फिफा अवार्ड जितेपछि मेस्सीले भने– ‘हामी ट्रिबेल जित्न सक्छौं’

एजेन्सी, असोज ७
गत राति छैटौंपटक फिफा वर्ष खेलाडीको अवार्ड जितेपछि स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले यस सिजन आफूहरूले सबै उपाधि जित्न प्रयास गर्ने बताएका छन् । अवार्ड ग्रहणपछि मिडियासँग कुरा गर्दै मेस्सीले बार्सिलोना हाल खराब अवस्थामा रहे पनि आफूहरूले सबै उपाधि जित्न सक्ने बताए ।

अवार्ड जिते स्पेन फर्किएपछि मिडियासँग कुरा गर्दै मेस्सीले ला लिगामा आफ्नो टिमले राम्रो सुरुआत गर्न नसकेको स्वीकार्दै खराब दिन धेरै नरहने बताए । ‘यो साँचो हो, हामी ला लिगामा खराब अवस्थामा छौं । तर, यो सुरुआत हो । लिगमा अझै लामो यात्रा बाँकी छ । हामी आगामी दिनमा आफ्नो स्थान लिनेछौं,’ मेस्सीले भने ।

मेस्सीले बार्सिलोना यसपटक सधैंझैं सबै उपाधि जित्ने अभियानमा रहने बताए । ‘कुनै पनि उपाधि जित्न सहज छैन । तर, च्याम्पियन्स लिग, ला लिगा र कोपा सबै जित्नु हाम्रो लक्ष्य हो । हामी यी सबै उपाधि जित्न चाहन्छौं,’ मेस्सीले भने, ‘हामी अबका दिनमा राम्रो प्रदर्शन गर्नेछौं ।’

मेस्सीले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वबारे सोधिएको प्रश्नमा जवाफ दिएनन् । ‘उनी (भाल्भर्डे) आफ्नो काम गरिरहेका छन्, हामीले आफ्नो । योभन्दा बढी बोल्नु मेरो काम होइन,’ मेस्सीले भने ।

बार्सिलोनाले आज राति ला लिगामा आफ्नो घरमा भिल्लारियलसँग लिगको छैटौं खेल खेल्दैछ । बार्सिलोना हाल लिगमा ५ खेलपछि ७ अंक जोडेर आठौं स्थानमा छ ।

प्रकाशित मिति ७ आश्विन २०७६, मंगलवार १५:३४
Loading...