च्याम्पियन्स लिगको प्रमुख दाबेदार हामी होइन, बार्सिलोना हो : ग्वार्डिओला

एजेन्सी, असोज ६
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजन युरोपियन च्याम्पियन्स लिग जित्न सक्ने टिमबारे अनुमान गरेका छन् । पछिल्ला सिजन सिटीबाट यो प्रतियोगिता जित्न कम्मर कसेर लागे पनि ग्वार्डिओला लगातार असफल भइरहेका छन् ।

पछिल्ला दुई सिजन सिटी लगातार च्याम्पियन्स लिगमा उपाधि होडमा खरो उत्रिए पनि ऊ फाइनल नपुगी आउट हुँदै आएको छ । गत सिजन सिटीलाई उपाधिका लागि प्रमुख दाबेदार मानिएको थियो । तर, उसको बाटोमा लिग प्रतिस्पर्धी क्लब टोटनह्याम क्वार्टरफाइनलमा तगारो बनिदियो ।

प्रिमियर लिगको साबिक विजेता सिटीलाई धेरैले यसपटक पनि च्याम्पियन्स लिगमा प्रमुख दाबेदारमध्येको एक टिम मानेका छन् । तर, सिटीका प्रशिक्षक ग्वार्डिओला स्वयं भने आफ्नो टिमलाई भन्दा पनि अन्य टिमलाई उपाधि जित्न सक्ने टिम मान्छन् । हालै एक अन्तर्वार्तामा कुरा गर्दै ग्वार्डिओलाले आफूहरू फेरि उपाधि होडमा रहे पनि उपाधि दाबेदार टिम अरू नै रहेको बताए ।

ग्वार्डिओलाले पूर्वक्लब बार्सिलोनालाई विगत वर्षझैं यसपटक पनि प्रमुख दाबेदार मान्छन् । ‘मेरा लागि बार्सिलोना यस प्रतियोगितामा सधैंको पहिलो दाबेदार हो । भलै, उनीहरू चार वर्षदेखि उपाधिविहीन छन्,’ ग्वार्डिओलाले भने, ‘मेस्सीजस्ता खेलाडी भएको टिम हरेक उपाधिको दाबेदार हुन्छ । उनीहरू यसपटक उपाधि जित्ने होडमा स्पष्ट रूपमा छन् ।’

ग्वार्डिओलाले आफूहरू पनि उपाधि होडमा रहने बताए । ‘मैले दुई वर्षअघि भनेको थिएँ कि– हामी च्याम्पियन्स लिग जित्न अहिले नै तयार भइसकेका छैनौं । दुई वर्ष पनि मलाई यो प्रतियोगिता जित्न तयार छौं भन्ने लागेको छैन,’ ग्वार्डिओलाले भने, ‘हामी तयारी हुँदैछौं । तर, उपाधि होडमा भने रहनेछौं ।’

प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार ०५:४१
Loading...