‘यसपटक नजिते मेस्सीले फेरि च्याम्पियन्स लिग जित्दैनन्’

एजेन्सी, कात्तिक ११
स्पेनिस बार्सिलोना पछिल्ला चार सिजन लगातार युरोपको ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जित्न असफल हुँदै आएको छ । यी चारै सिजन बार्सिलोना फाइनल पुग्न सकेन । गत सिजन बार्सिलोना लज्जास्पद हारको सिकार हुँदै अन्तिम चारबाटै आउट भएको थियो ।

यसपटक बार्सिलोना फेरि पनि युरोपियन उपाधि जित्ने दौडमा छ । त्यसका लागि यसले गत सिजनबाटै खेलाडी खरिदमा पैसाको खोलो बगाउँदै आएको छ । बार्सिलोनाले यो सिजनको पहिलो खेल गोलरहित बराबरीबाट सुरु गरिसकेको छ ।

यसैबीच, पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले यो यदि यसपटक पनि बार्सिलोनाले च्याम्पियन्स लिग जित्न नसके मेस्सीले फेरि सो उपाधि जित्न नसक्ने बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीले हालसम्म कम्तीमा ६ वा ७ पटक च्याम्पियन्स लिग जितिसक्नुपर्ने भए पनि उनले अब सो उपाधि जित्ने सम्भावना न्यून रहेको बताए ।

‘मेरो विचारमा मेस्सीले यहाँसम्म आइपुग्दा बार्सिलोनाबाट ६ वा ७ पटक च्याम्पियन्स लिग जित्नुपर्ने थियो । तर, यो जित्न ज्यादै कठिन छ, यो कुरा मेस्सीलाई राम्रोसँग थाहा छ,’ मोउरिन्होले भनेका छन् ।

मोउरिन्होले यदि यसपटक पनि बार्सिलोनाले यो च्याम्पियन्स लिग जित्न नसके मेस्सीले फेरि यो उपाधि जित्न नसक्ने बताए । ‘यो कुरा ख्याल राख्नुहोस् कि, यदि यसपटक पनि बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सकेन भने मेस्सीले फेरि यो प्रतियोगिता जित्न सक्दैनन्,’ मोउरिन्होले भने, ‘मेस्सीसँग अब धेरै समय छैन । र, अबका दिनमा अरू क्लब धेरै बलिया भएर आउनेछन् ।’

बार्सिलोनाले सिजन २०१४–१५ मा ट्रिबेल उपाधि जितेयता पुनः च्याम्पियन्स लिग जित्न सकेको छैन । मेस्सीले बार्सिलोनाबाट यो प्रतियोगिता कूल चारपटक जितेका छन् । उनका खास प्रतिस्पर्धी पोर्चुगल तथा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले पाँचपटक जितेका छन् ।

प्रकाशित मिति १ आश्विन २०७६, बुधबार १४:४४
Loading...