डर्टमुन्डविरुद्ध मेस्सीका लागि भाल्भर्डेको ‘बेग्लै’ योजना

एजेन्सी, भदौ ३१
युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणअन्तर्गत पहिलो लेगको खेलमा आज राति जर्मन क्लब बोरुसिया डर्टमुन्ड र स्पेनिस बार्सिलोना खेल्दैछन् । राति १२ः४५ बाट सुरु हुने यो खेल डर्टमुन्डको घरमा हुनेछ ।

सो खेलका लागि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफ्ना कप्तान तथा सुपरस्टार लिओनल मेस्सीका लागि फरक योजना बनाएका छन् । हालै चोटमुक्त हुँदै मैदान फर्किन लागेका मेस्सी आजै राति यो सिजनको पहिलो खेल खेल्ने तयारीमा छन् ।

उनले मेडिकल टिमबाट पास पाइसके पनि मेस्सीलाई भाल्भर्डेले आज राति डर्टमुन्डविरुद्ध सुरुआती टोलीमा खेलाउनेछैनन् । हालै चोटबाट फर्किएकाले भाल्भर्डे मेस्सीलाई आगामी दिनका लागि सुरक्षित गर्न चाहन्छन् । त्यसका लागि आज डर्टमुन्डविरुद्ध सुरुआती टोलीमा मेस्सीलाई खेलाउनु सही नहुने निचोड भाल्भर्डेको छ ।

गत राति खेलअघिको पत्रकार सम्मेलनमा पनि उनले मेस्सीले खेल्ने–नखेल्ने वा खेले पनि कतिबेला खेल्ने भनेर आफूले निर्णय लिन बाँकी रहेको बताएका थिए । यसको अर्थ भाल्भर्डेले डर्टमुन्डविरुद्धको खेल पजत्ने सुनिश्चित भए मेस्सीलाई मैदान उतार्नेछैनन् । यदि उतारे पनि उनले दोस्रो हाफमा अन्तिम केही समय मात्रै खेलाउने तयारी गरेका छन् ।

मेस्सीलाई सम्भावित थप चोट र जोखिमबाट बचाउन भाल्भर्डेले मेस्सीका लागि फरक योजना बनाएको बताइएको छ । सिँगै सिजन बाँकी रहेकाले भाल्भर्डे आफ्ना प्रमुख खेलाडीमाथि कुनै पनि जोखिम मोल्ने पक्षमा छैनन् । यो कुरा उनी आफैंले बताउँदै आएका छन् ।

बलियो टिम डर्टमुन्डविरुद्ध उसकै घरमा खेल्दा बार्सिलोना दबाबमा हुने भाल्भर्डेलाई राम्रोसँग थाहा छ । प्रतियोगिताको पहिलो खेल भएकाले उनी यो खेल हार्न चाहँदैनन् भने मेस्सीलाई पनि सकेसम्म नखेलाई खेल जित्न चाहन्छन् । यदि खेल नियन्त्रणभन्दा बाहिर जाने अवस्थामा मात्रै मेस्सीलाई यस खेलमा प्रयोग गर्ने भाल्भर्डेको योजना रहनेछ ।

डर्टमुन्डविरुद्ध बार्सिलोनाको लाइनमा लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान र अन्सु फाती हुने सम्भावना छ । दोस्रो हाफमा अवस्थाअनुसार मेस्सी मैदान उत्रिन सक्छन् ।

प्रकाशित मिति ३१ भाद्र २०७६, मंगलवार १५:११
Loading...