बार्सिलोनाका पूर्वखेलाडी भन्छन्– ‘मेस्सी र रोनाल्डो दुवै साधारण मानिस हुन्’

एजेन्सी, भदौ ३०
इंग्लिस क्लब एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजले आफ्ना राष्ट्रिय टिमका सहकर्मी क्रिस्टियानो रोनाल्डो र पूर्वक्लब स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीबारे धारणा राखेका छन् । अघिल्लो सिजन बार्सिलोना छाडेर एभर्टन पुगेका पोर्चुगिज खेलाडीले मेस्सी र रोनाल्डोलाई अन्यझैं सामान्य मानिस भनेर भन्दै उनीहरूबीचको तुलनालाई निरर्थक भनेका छन् ।

पोर्चुगलले सन् २०१६ मा युरो कप जित्दा टोलीका प्रमुख सदस्य रहेका गोमेजले पछिल्लो समय पोर्चुगलको टोलीमा कमै मात्र मौका पाइरहेका छन् । उनी यतिबेला क्लब फुटबलमै व्यस्त छन् ।

‘जतिबेला मलाई पहिलोपटक पोर्चुगलको राष्ट्रिय टोलीमा बोलाइयो, मैल १९ वर्षको उमेरमा क्रिस्टियानो रोनाल्डोलाई भेटेको हुँ,’ गोमेजले भने, ‘जतिबेला मैले बार्सिलोनाका लागि साइन गरें, २३ वर्षको उमेरमा मेस्सीसँग भेटेको हुँ ।’

गोमेजले रोनाल्डो र मेस्सी दुवैसँग विशेष क्षमता रहेको भन्दै रोनाल्डो र मेस्सी को उत्कृष्ट भन्नेमा विवाद गर्नु निरर्थक रहेको बताए । ‘कहिलेकाहीं म यो बुझ्न सक्दिनँ कि, मानिस किन को उत्कृष्ट भन्नेमा झगडा गर्छन्, जबकि उनीहरू दुवै फरक क्षमताका तर एकै स्तरका खेलाडी हुन् ।’

गोमेजले मेस्सी र रोनाल्डो दुवै सामान्य मानिस रहेको पनि बताए । ‘मानिस सोच्दछन् कि, उनीहरूमध्ये कोही एकजना अर्कै ग्रहका हुन् वा दुवै हुन् । तर, उनीहरू हामीजस्तै साधारण मानिस नै हुन् ।’

प्रकाशित मिति ३० भाद्र २०७६, सोमबार ०२:०६
Loading...