अल्कासेरको खुलासा– ‘बार्सिलोनामा मलाई केही मानिसले ज्यादै खराब व्यवहार गर्थे’

एजेन्सी, भदौ २९
जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार खेलाडी पाको अल्कासेरले आफू बार्सिलोनामा छँदा केही व्यक्तिले आफूसँग ‘ज्यादै खराब’ व्यवहार गर्ने गरेको खुलासा गरेका छन् । गत सिजन बार्सिलोना छाडेर जर्मन क्लबमा अनुबन्ध भएका स्पेनिस फरवार्डले युरोपियन च्याम्पियन्स लिगमा पूर्वक्लब बार्सिलोनासँगविरुद्ध उत्रिनुअघि यस्तो बताएका हुन् ।

३ दिनपछि च्याम्पियन्स लिगको छनौट चरणमा बार्सिलोना र डर्टमुन्ड पहिलो खेल खेल्दैछन् । यस खेलका लागि डर्टमुन्डले बार्सिलोनालाई आफ्नो घरमा स्वागत गर्दैछ । अल्कासेर बार्सिलोना छाडेपछि पहिलोपटक पूर्वक्लबविरुद्ध च्याम्पियन्स लिगमा उत्रिँदैछन् ।

अल्कासेर बार्सिलोनामा खेल्न नपाएपछि निराश बनेर सुरुमा लोनमा डर्टमुन्ड पुगेका थिए । पछि क्लबले उनलाई स्थायी रूपमा अनुबन्ध गरेको थियो । बार्सिलोना छाडेर जर्मन लिगमा खेल्न थालेका अल्कासेर यतिबेला उच्च लयमा छन् । उनी यतिबेला बुन्डेसलिगाकै स्टार खेलाडीमा कहलिएका छन् ।

हालै एक अन्तर्वार्तामा बोल्दै अल्कासेरले बार्सिलोनामा आफ्ना निकै घनिष्ठ मित्रहरू भए पनि केही व्यक्तिले भने आफूसँग खराब व्यवहार गरेको खुलासा गरे । ‘बार्सिलोनामा रहेका थुप्रै सहकर्मी तथा अन्य व्यक्तिप्रति मसँग उच्च सम्मान छ, उनीहरूले मलाई निकै राम्रो व्यवहार दिए,’ अल्कासेर भने, ‘तर, अन्य केही यस्ता मानिस थिए, जसले मसँग ज्यादै खराब व्यवहार गर्थे ।’

अर्को प्रसंगमा बोल्दै अल्कासेरले आफू अहिले नयाँ क्लबमा एकदमै खुसी रहेको पनि बताए । ‘म यहाँ आफ्नो निर्णयले आएको हुँ । म खेल्न चाहन्थें । र, यहाँ मैले चाहेकै जस्तो भइरहेको छ । अहिले म जे गरिरहेको छु, यो मेरो स्टाइल हो,’ अल्कासेरले भने, ‘बार्सिलोना छाड्ने निर्णयमा कुनै पछुतो छैन, बरु नछाड्दा पछुतो हुन्थ्यो होला ।’

च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेलबारे पनि अल्कासेर भनाइ राखे । उनले यदि बार्सिलोनाविरुद्ध आफूले गोल गरे सेलिब्रेसन गर्ने कि नगर्ने भन्ने निर्णय लिन बाँकी रहेको पनि बताए । ‘बार्सिलोनामा विश्वस्तरका खेलाडी छन् । उनीहरूसँग ठूलो प्रतियोगिता सामना गर्नु चुनौतीपूर्ण छ । तर हामी तयार छौं । हामी उनीहरूलाई सजिलै जित्न दिँदैनौं । हाम्रो लक्ष्य स्पष्ट जित हुनेछ,’ अल्कासेर भने ।

प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार १४:४५
Loading...