पेरूले ब्राजिलसँग लियो कोपाको बदला

काठमाडौं, भदौ २६
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरूले ब्राजिललाई हराएको छ । आज बिहान अमेरिकामा भएको खेलमा पेरूले ब्राजिललाई १–० को संघर्षपूर्ण अवस्थाबाट हरायो । आफ्ना स्टार खेलाडी नेइमारलाई बेन्चमा राखेर मैदान उत्रिएको ब्राजिलले गोल गर्न नसक्दा नतिजा गुमायो । यससँगै पेरूले ब्राजिलसँग दुई महिनाअघि कोपा अमेरिकामा भएको फाइनल खेलमा हारेको बदलासमेत लिएको छ । सो खेलमा ब्राजिलले आफ्नो भूमिमा पेरूलाई ३–१ ले हराएर उपाधि जितेको थियो ।

आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा गोल हुन ८५औं मिनेटसम्म कुर्नुपरेको थियो । ब्राजिलले खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । तर, ८५औं मिनेटमा पेरूका लागि लुइस अब्रामले गोल गरेर ब्राजिलविरुद्ध १–० को अग्रता दिलाए । त्यसपछि बाँकी समयमा ब्राजिलले गोल गर्न सकेन । र, खेल पेरूले जित्यो । आजको खेलमा नेइमारलाई खेलको ६३औं मिनेटमा रोवर्ट फर्मिन्होको स्थानमा मैदान छिराए पनि उनले गोल गर्न सकेनन् । यसअघिको खेलमा उनले १ गोल गरेका थिए ।

प्रकाशित मिति २५ भाद्र २०७६, बुधबार ०५:०५
Loading...