दोस्रो खेलमा नेपाली महिला टोली उज्बेकिस्तानसँग पराजित

काठमाडौं, भदौ २३
किर्गिस्तानमा जारी नदेझ्दा कप महिला फुटबलमा नेपाल आफ्नो दोस्रो खेलमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल बलियो टोली उज्बेकिस्तानसँग २–० ले पराजित भएको हो ।

पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८–२ ले हराएको नेपालले दोस्रो खेलमा हार पन्छाउन सकेन । फाइनल पुग्न महत्त्वपूर्ण मानिएको खेलमा नेपाल पराजित भए पनि उसको फाइनल जाने ढोका भने खुलै छ ।

बलियो टोली उज्बेकिस्तानले नेपालविरुद्ध पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल गरेर २–० को जित निकालेको हो । यसअघि उसले पहिलो खेलमा ताजिकिस्तानलाई १२–० ले हराएको थियो ।

नेपालकी कप्तान निरु थापा खेलको १४औं मिनेटमा चोटग्रस्त हुँदै मैदान छाडेकी थिइन् । विपक्षी खेलाडीको ट्याकलमा परेर उनी घाइते भएकी थिइन् । उनलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालेपछि उनको स्थानमा सरु लिम्बूलाई मैदान छिराइएको थयो ।

फाइनल प्रवेश गर्न नेपालले अब भोलि ताजिकिस्तानको सामना गर्दैछ । आज नेपाललाई हराएको उज्बेकिस्तान भने फाइनलनजिक पुगेको छ ।

प्रकाशित मिति २३ भाद्र २०७६, सोमबार ०८:२९
Loading...