अन्ततः ‘मेस्सी–नेइमार कनेक्सन’बारे बोले बार्सिलोनाका अध्यक्ष

एजेन्सी, भदौ २२
स्पेनिस बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले आफ्ना पूर्वखेलाडी नेइमार फर्काउने विषयमा कप्तान लिओनल मेस्सीको खास चासो रहेको खुलासा गरेका छन् । अघिल्लो दिन एक अन्तर्वार्तामा बोल्दै उनले ड्रेसिङ रुमले नेइमार चाहेको उल्लेख गर्दै आफूहरूले सक्दो प्रयास गरे पनि नेइमारलाई फर्काउन नसकिएको बताए ।

यसअघि क्बल बार्सिलोना नेइमार फर्काउने पक्षमा थिएन । तर, मेस्सीसहित केही प्रमुख खेलाडीले नेइमार फर्काउन क्लबसँग दबाब बढाएपछि क्लब सो कुरामा सकारात्मक देखिएको थियो । पछिल्लोपटक बार्सिलोनाले पिएसजीसँग नेइमारका लागि पटक–पटक प्रस्ताव गरे पनि महँगो मूल्यका कारण बार्सिलोना नेइमार फर्काउन सफल भएन ।

‘यो साँचो हो, ड्रेसिङ रुमले नेइमार चाहेको छ । मेस्सीले मसँग यो कुरा खुलेर गरेका छन् । पहिला अर्कै अवस्था थियो र अहिले क्लब पनि नेइमारको पक्षमा छ,’ बार्टोमेउले भने, ‘तर, सबै कुरा हाम्रो हातमा छैन । हामीसँग केही दायरा छन् र केही अवरोधहरू छन् ।’

बार्टोमेउले अब क्लबले नेइमार फर्काउन तत्कालै प्रयास नगर्ने बताए । ‘यो प्रष्ट पार्न चाहन्छु कि, हामी जनवरीमा नेइमारको विषयमा कुनै निर्णय लिँदैनौं । आगामी दिन पर्खिनुपर्छ र हेर्नुपर्छ ।’

प्रकाशित मिति २२ भाद्र २०७६, आईतवार ११:१४
Loading...