बार्सिलोना–क्यामरूनका लिजेन्ड इटोद्वारा सन्यास घोषणा

एजेन्सी, भदौ २१
स्पेनिस क्लब बार्सिलोना तथा क्यामरुनका लिजेन्ड खेलाडी सामुएल इटोले फुटबलबाट सन्यास घोषणा गरेका छन् । गत राति सामाजिक सन्जाल इन्स्टाग्रामार्फत् उनले ३८ वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् । सिजन २०१८–१९ कतार क्लब कतार एससीबाट खेलेका उनले अब सबैखाले फुटबल बिसाउने निर्णय हुन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्– ‘समाप्ती । अब म नयाँ चुनौतीका लागि तयार छु । सबैलाई धन्यवाद ।’

इटोले आफ्नो व्यावसायिक करिअरमा स्पेन, रसिया र इटालीमा खेलेका थिए । तर, उनी स्पेनमा बार्सिलोनाबाट खेल्दा सफल खेलाडीका रूपमा चिनिएका थिए । बार्सिलोनामा उनले सन् २००४ देखि २००९ सम्म खेलेका थिए । उनले बार्सिलोनाबाट तीन ला लिगा दुई च्याम्पियन्स लिग जितेका थिए ।

इटोले इटालियन क्लब इन्टर मिलानबाट पनि सन् २०१० मा च्याम्पियन्स लिग जितेका थिए । उनले क्यामरुनको राष्ट्रिय टोलीबाट सन् २००० मा गोल्ड मेडल जितेका थिए ।

इटो क्यामरुनका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले देशका लालगि ५६ गोल गरेका छन् । क्यामरुनले सन् २००० र २००२ मा लगातार अफ्रिका कप अफ् नेसन्सको उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए । उनी १८ गोलसहित नेसन्सको कपको सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

इटाले बार्सिलोनाका लागि १४४ खेलबाट १०८ गोल गरेका छन् भने इन्टर मिलानमा ६७ खेलबाट ३३ गोल गरेका छन् । उनले पछिल्लोपटक कतारी क्लब कतार एससीका लागि १७ खेलबाट ६ गोल गरेका थिए ।

प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार ०८:३७
Loading...