मेस्सीले अकस्मात् रूपमा क्लब छाड्न सक्छन् : पिके

एजेन्सी, असार २१
स्पेनिस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले आफ्ना सहकर्मी तथा कप्तान लिओनल मेस्सीले निकट भविष्यमा अकस्मात् रूपमा क्लब छाड्न सक्ने बताएका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै पिकेले मेस्सीले क्लबसँगको सम्झौताअनुसार आफ्नो निर्णय लिन सक्ने र त्यो आफूलाई जानकारी भएको बताएका हुन् ।

सन् २०१७ को डिसेम्बरमा मेस्सीले बार्सिलोनासँग सम्झौता गर्दा ‘यदि मेस्सीले कुनै पनि सिजनको अन्त्यसँगै क्लब छाड्न चाहे क्लबले उनलाई फ्री ट्रान्सफरमा छाड्नुपर्ने’ सर्त रहेको छ । सोही समझदारीअनुसार मेस्सीले बार्सिलोनामा आफ्नो आवश्यकता सकिएको भन्ने ठानेका दिन उनले सजिलै क्लब छाड्न सक्नेछन् । यस कुरामा क्लब बार्सिलोना पनि जानकार छ ।

पछिल्ला दिन मेस्सीले सन् २०१९–२० को सिजनपछि क्लब छाड्न सक्ने सम्भावना बढेको चर्चा चलिरहेका बेला पिकेले सो विषयमा धारणा राखेका छन् । ‘मलाई मेस्सीको मनस्थिति र क्लबसँग उनको सहमतिबारे राम्रोसँग थाहा छ । र, मलाई यो पनि थाहा छ कि, उनले कुनै पनि सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गर्न सक्छन् । त्यो यही सिजनको अन्त्यसपछि हुनसक्छ । वा अर्को सिजनपछि पनि हुनसक्छ,’ पिकेले भने, ‘यसमा मेस्सीले लिने निर्णयमा भर पर्छ । मेरो बुझाइमा मेस्सीले बार्सिलोनामा आफ्नो आवश्यकता छैन भन्ने ठानेका दिन उनी अकस्मात् रूपमा जान सक्छन् ।’

पिकेले पछिल्ला सिजनले मेस्सीलाई बढी दबाबमा पारेको पनि बताए । ‘मेस्सी पछिल्ला वर्ष क्लब र देशबाट पनि ठूला उपाधि जित्न नसक्दा दबाबमा छन् । तर, यो त चलिरहन्छ । आगामी दिनले खुसी ल्याउन सक्छन् । यो कुरा उनले बुझेका होलान् । म त उनी अझै थुप्रै वर्ष क्याम्प नोउमै रहून् भन्ने चाहन्छु,’ पिकेले थपे ।

पिकेले मेस्सीले धेरैलाई छक्का पार्ने अवस्थाबाट क्लब छाड्न सक्ने पनि बताए । ‘मलाई यो थाहा छ कि, उनी अबका हरेक सिजनको अन्त्यसँगै फ्रिमा क्लब छाड्न सक्छन् । र, त्यसो भए यो मेरा लागि आश्चार्य हुनेछैन ।’

सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले दुई वर्षअघि गरेको सम्झौताअनुसार उनी सन् २०२१ को जुन ३० सम्म बार्सिलोनामै रहनेछन् । तर, यदि उनले चाहे कुनै पनि सिजनको अन्त्य भएपछि उनी क्लब छाडेर सित्तैमा अर्को क्लब जान सक्छन् ।

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार १३:२४
Loading...