इकार्डी मिलान छाडेर लोनमा पिएसजीमा अनुबन्ध

एजेन्सी, भदौ १७
अर्जेन्टिनी स्टार फरवार्ड माउरो इकार्डी फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भएका छन् । उनी इटालियन इन्टर मिलान छाडेर लोन सम्झौतामा पिएसजीमा अनुबन्ध भएका हुन् । युरोपियन लिगमा सरुवा बजार सकिन केही घन्टा बाँकी छँदा पिएसजीले २६ वर्षीय अर्जेन्टिनी फरवार्डलाई लोनमा अनुबन्ध गरेको घोषणा गरेको हो ।

मिलानमा नयाँ प्रशिक्षक एन्टोनियो कोन्टे तथा क्लबका अधिकारीसँग सम्बन्ध बिग्रिएपछि इकार्डीले क्लब छाड्ने पक्का भएको थियो । आफू प्रशिक्षक बनेदेखि नै कोन्टेले आफ्नो टोलीमा इकार्डीलाई कुनै स्थान नरहेको प्रष्ट पार्दै आएका थिए ।

लोन सम्झौताअनुसार इकार्डी दिएबापत मिलानले एक सिजनका लागि ५ मिलियन युरो पिएसजीबाट प्राप्त गर्नेछ । यदि उसले अर्को सिजन स्याथी रूपमा इकार्डी किन्न चाहे ६५ मिलियन युरोमा किन्न पाउनेछ ।

मिलान छाड्नुअघि इकार्डीले क्लबसँग सन् २०२२ को जुन ३० सम्मका लागि सम्झौता नवीकरण गरेका थिए । यससँगै इकार्डीले पिएसजीमा १८ नम्बर जर्सी लगाउने पक्का भएको छ । क्लबले उनलाई सो जर्सी दिइसकेको छ । उनी अब पिएसजीको इतिहासमा १६ नम्बर जर्सी लगाउने १६औं अर्जेन्टिनी खेलाडी बनेका छन् ।

मिलानमा ६ सिजन बिताउनेक्रममा इकार्डीले कूल २१९ खेल खेलेका छन् । सोक्रममा १२४ गोल उनले गरेका छन् । २८ गोलका लागि असिस्टसमेत गरेका छन् । उनी सन् २०१३ को समर सिजनमा मिलानमा अनुबन्ध भएका थिए ।

प्रकाशित मिति १७ भाद्र २०७६, मंगलवार ०३:००
Loading...