‘नेइमारले बार्सिलोना छाड्नु करिअरकै सबैभन्दा ठूलो गल्ती’

एजेन्सी, भदौ १५
स्पेनिस बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले यो बताएका छन् कि, आफ्नो देशका स्टार खेलाडी नेइमारले बार्सिलोना छाड्नु उनको करिअरको सबैभन्दा ठूलो गल्ती थियो । पटक–पटक नेइमारबारे धारणा राख्दै आएका रिभाल्डोले हालै एक अन्तर्वार्तामा बोल्दै नेइमारको भविष्यबारे चिन्ता व्यक्त गरेका छन् । सोक्रममा उनले नेइमारले बार्सिलोना नछाडेको भए अहिलेसम्म धेरै कुरा भइसक्ने बताए ।

रिभाल्डोले नेइमारका लागि बार्सिलोना सबैभन्दा सही क्लब भए पनि अहिले फरक अवस्था रहेको बताए । ‘मेरो विचारमा नेइमारले २०१७ मा पिएसजी जान बार्सिलोना छाड्ने निर्णय गरे, जुन उनको करिअरको सबैभन्दा ठूलो भुल थियो । यो कुरा अहिले नेइमारलाई पनि पछुतो लागिरहेको हुनुपर्छ,’ रिभाल्डोले भने, ‘नेइमार अहिले बार्सिलोनामा रहिरहेको अवस्था र अब फर्किएर जानु एकै हुन सक्दैन । यो सबैलाई थाहा छ ।’

रिभाल्डोले अझै पनि नेइमारले पेरिस छाड्ने प्रबल सम्भावना रहेको बताए । ‘मलाई त अझै पनि उनी पेरिस छाडेर अन्तै जानछन् जस्तो लाग्छ । यदि उनी बार्सिलोना फर्किएनन् भने उनका लागि युभेन्टस अर्को सही क्लब हुन सक्छ । त्यहाँ उनले रोनाल्डोसँग मिलेर टिमका लागि र व्यक्तिगत रूपमा धेरै कुरा जित्न सक्छन् ।’

प्रकाशित मिति १५ भाद्र २०७६, आईतवार १३:४१
Loading...