तीन खेलबाटै ५ अंक गुमेपछि भाल्भर्डेले भने– ‘यो खराब अवस्था हो’

एजेन्सी, भदौ १५
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना गत राति लिगको तेस्रो खेलमा अवे मैदानमा ओसासुनासँग अप्रत्यासित रूपमा बराबरीमा रोकियो । खेलमा पछि परेको अवस्था उल्टाएर दोस्रो हाफमा अग्रता लिए पनि अन्तिम समयमा पेनाल्टी गोल खाएपछि बार्सिलोना घरेलु टोलीसँग २–२ रोकिएर अंक बाँड्न बाध्य भयो । जेरार्ड पिकेले बक्सभित्र ह्यान्ड बल गरेपछि ओसासुनाले पेनाल्टी गोलबाट खेललाई अन्तिम समयमा बराबरीमा फर्काएको थियो ।

सो खेलपछि बार्सिलोनाले दोस्रो अवे खेलबाट २ अंक गुमायो । यसअघि उसले सिजनको पहिलो खेलमा एथ्लेटिक बिल्बाओसँग अवे मैदानमै १–० ले पराजित भएको थियो । त्यसपछि लिगको दोस्रो तथा पहिलो होम म्याचमा उसले रियल बेटिसलाई ५–२ ले हराएर ३ अंक जोडेको थियो । तर, तेस्रो खेल खेल्न अवे मैदानमा उत्रिएको बार्सिलोनाले बराबरी खेल्दै पुनः अंक गुमायो । यससँगै बार्सिलोनाले लिगका सुरुआती तीन खेलबाटै ५ अंक गुमाइसकेको छ ।

गत राति ओसासुनासँग बराबरीमा रोकिएपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले चर्को असन्सुष्टि जनाए । उनले आफूहरू लिगका सुरुअती खेललाई हेर्ने हो भने खराब अवस्थामा रहेको बताए । ‘यो खेल हामीले जित्नुपर्ने थियो । हामी जितको हकदार थियौं । तर, घरेलु टोलीलाई तपाईं अन्तिम समयमा पेनाल्टी दिनुहुन्छ भने यो कठिन हुन्छ,’ खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै भाल्भर्डेले भने ।

उनले अघि थपे, ‘हामीले सुरुका तीन खेलबाटै ५ अंक गुमाइसकेका छौं । बार्सिलोनाजस्तो टिमका लागि यो खराब अवस्था हो । दुवै अवे खेलमा हामी जित निकाल्न असफल भयौं । तर, यो लिगको सुरुआत हो । लिगमा अझै लामो यात्रा बाँकी नै छ । हामी खुसी छैनौं तर अवस्था नियन्त्रणबाहिर भने गइसकेको छैन । हामी आगामी दिनमा हेर्छौं ।’

बार्सिलोना अहिले चोटसँगै जुधिरहेका आफ्ना प्रमुख खेलाडी लिओनल मेस्सी, लुइस स्वारेज र उसामान डेम्बेलेबिनै खेलिरहेको छ । कप्तान मेस्सी सम्भवतः आगामी खेलबाट मैदान पर्किने सम्भावना छ भने स्वारेज र डेम्बेलेलाई मैदान फर्किने अझै दुई साता कम्तीमा लाग्न सक्छ । अब लिगमा खेल दुई साताको अन्तर्राष्ट्रिय ब्रेकपछि मात्रै हुने भएकाले त्यसबेला बार्सिलोनाका सबै खेलाडी उपलब्ध हुन सक्नेछन् ।

प्रकाशित मिति १५ भाद्र २०७६, आईतवार ०४:५८
Loading...