युइएफए अवार्ड घोषणा सभामा मेस्सी र रोनाल्डोबीच देखियो यस्तो मित्रता र प्रेम

एजेन्सी, भदौ १३
गत राति मोनोकामा युइएफए अवार्ड घोषणा हुँदा दशकदेखि विश्व फुटबलको केन्द्रमा रहँदै आएका बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी र युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पुनः एकैपटक एकै मञ्चामा देखिए । यसपटक वर्ष खेलाडीको प्रतिस्पर्धामा रहेका मेस्सी र रोनाल्डो दुवैलाई पछि पार्दै लिभरपुल तथा नेदरल्यान्ड्सका भर्जिल भान डाइकले पहिलोपटक सो अवार्ड जिते ।

घोषणा सभामा विजेता भान डाइकसँगै मेस्सी र रोनाल्डोसमेत सहभागी भए । मेस्सीले प्रमुख अवार्ड जित्न असफल हुँदा उनले वर्षको उत्कृष्ट फरवार्डको अवार्ड जिते । रोनाल्डो भने यसपटक अवार्डविहीन बने । आफू उपाधिविहीन बन्छु भन्ने थाहा हुँदाहुँदै पनि उनी कार्यक्रममा भाग लिन मोनाको पुगे । र, कार्यक्रमको शोभा बढाउन मदत गरे ।

अवार्ड घोषणा सभामा मेस्सी र रोनाल्डोबीच निकै आत्मीयता, सम्मान र प्रेम देखियो । प्रमुख अवार्डका दाबेदार उनीहरू भान डाइकसँगै सबैभन्दा अगाडिको लाइनमा बसेका थिए । कार्यक्रम सुरु भएदेखि नै मेस्सी र रोनाल्डोले लगातार हाँसीमजाक गर्दै कुरा गरिरहे ।

पछि औपचारिक रूपमा कार्यक्रम प्रस्तोताले रोनाल्डो र मेस्सीलाई एकअर्काबारे बोल्न अनुरोध गरेपछि सभा हलको माहौल झनै रोचक देखियो । दुवै खेलाडीले एकअर्काको तारिफ गरे भने स्पेनमा प्रतिस्पर्धीका रूपमा बिताउँदाको क्षण सम्झिए ।

सोक्रमा दुवैले ला लिगामा प्रतिस्पर्धी भएर लामो समय बिताए पनि आफूहरूले एक अर्कालाई सम्झिने मात्रै बताएनन्, आफूहरूबीच प्रतिस्पर्धी खेलाडीका दृष्टिले निकै राम्रो सम्बन्ध रहेको पनि बताएका थिए ।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड पुगेका रोनाल्डो अघिल्लो वर्ष स्पेन छाडेर युभेन्टस पुगेका थिए । स्पेनमा ९ वर्ष रहँदा रोनाल्डो र मेस्सीबीच व्यक्तिगत रूपमा चर्को प्रतिस्पर्धा थियो ।

प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार ०३:४०
Loading...