मेस्सी युइएफए अवार्ड घोषणा सभामा भाग लिन जाँदै

एजेन्सी, भदौ १२
स्पेनिस बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टोमेउ तथा कप्तान लिओनल मेस्सीले युइएफए वर्ष खेलाडी घोषणा तथा समूह चरणको ड्र हुने कार्यक्रममा भाग लिने भएका छन् । मोनाकोमा हुने सो कार्यक्रम आज राति ९ः४५ बजेबाट सुरु हुँदैछ ।

सो कार्यक्रमका लागि मेस्सी र क्लबका अध्यक्षसँगै सहभागी हुनेछन् । बार्टोमेउ मोनाको उत्रिसकेका छन् भने मेस्सी अबेर राति पुग्ने तयारी छ ।

मेस्सी यसपटक ‘युइएफए द बेस्ट प्लयेर अफ् द इयर’ अवार्डको टप–३ मा परेका छन् । मेस्सीलाई सो अवार्डका लागि इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकसँगै प्रमुख दाबेदार मानिएको छ ।

साथै, मेस्सीले आज सोही कार्यक्रमबाट गत सिजनका लागि ‘बेस्ट गोल अफ् द सिजन’को अवार्ड समेत थाप्नेछन् । उनी गत सिजनकै लागि फरवार्ड विधातर्फ ‘पोजिसनल अवार्ड’को मनोनयनमा समेत परेका छन् ।

मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा कूल १२ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए । तर, उनको टिम सेमिफाइनलबाटै आउट भएको थियो ।

प्रकाशित मिति १२ भाद्र २०७६, बिहीबार १०:३१
Loading...