मेस्सीलाई थपियो चोट : लामो समय मैदानबाहिर !

एजेन्सी, भदौ १२
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी चोटका कारण अझै एक महिना मैदानबाहिर रहने भएका छन् । ताजा रिपोर्टअनुसार अघिल्लो दिन एक्लै प्रशिक्षण गर्नेक्रममा मेस्सीलाई थप चोट लागेको छ ।

मेस्सी करिब एक महिनादेखि चोटका कारण टोलीबाहिरै छन् । जसमा उनले प्रि–सिजन दुई र ला लिगाका दुई गरी चार खेल गुमाइसकेका छन् ।

शनिबार बार्सिलोनाले अवे मैदानमा ला लिगाको तेस्रो खेलमा ओसासुनाको सामना गर्दैछ । सो खेलमा मेस्सी फर्किने अनुमान गरिए पनि उनलाई मैदानमा देख्न अझै कम्तीमा एक महिना पर्खिनुपर्ने भएको छ ।

हालसम्म क्लब बार्सिलोनाले अफिसियल रूपमा मेस्सीको चोटको पुष्टि गरेको छैन । अहिले लुइस स्वारेज र उसामान डेम्बेले पनि चोटका कारण टोलीबाहिर छन् ।

यता, केही स्पेनिस मिडियाले भने बार्सिलोनाको मेडिकल टिमले मेस्सीलाई चोट थपिएको कुरा इन्कार गरेको खबर छापेका छन् । चिकित्सकको टोलीले मेस्सीको रिकभरी ढिला भइरहेको भए पनि थप चोट लागेको र एक महिना मैदानबाहिर रहने समाचारको खण्डन गरेका खबर पनि आइरहेका छन् ।

प्रकाशित मिति ११ भाद्र २०७६, बुधबार १२:०७
Loading...