ओसासुनाविरुद्ध मेस्सीले खेल्ने सम्भावना कति ?

एजेन्सी, भदौ १२
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले ला लिगाको तेस्रो खेल पनि नखेल्ने सम्भावना बढेको छ । शनिबार राति बार्सिलोनाले लिगको तेस्रो खेलमा अवे मैदानमा ओसासुनाविरुद्ध खेल्दैछ ।

सो खेलअघि मेस्सी आंशिक प्रक्षिणमा मात्रै सामेल भएका छन् । बिहीबारबाट टिमले पूर्ण प्रशिक्षण थाले पनि मेस्सी भने एक्लै प्रशिक्षण गरिरहेका छन् । क्लबका चिकित्सकले मेस्सीलाई अझै जोखिम रहेको भन्दै सावधानी अपनाउन भनेपछि मेस्सी एक्लै प्रशिक्षणमा व्यस्त छन् ।

खेलको दुई दिनअघिसम्म उनी समूहमा प्रशिक्षणमा सामेल नभएपछि र चिकित्सक टिमबाट ‘अल क्लियरेन्स’ नपाइसकेकाले उनले शनिबार हुने खेल खेल्ने सम्भावना कम देखिन्छ । यदि शुक्रबारको पूर्ण प्रशिक्षणमा पनि उनी सामेल नभए उनले ओसासुनाविरुद्धको खेल गुमाउने करिब पक्काजस्तै हुनेछ ।

प्रशिक्षक अर्नेस्टो भाल्भर्डे मेस्सी पूर्ण रूपमा फिट नभई उनलाई जोखिमसाथ टोलीमा फर्काउने पक्षमा छैनन् । चिकित्सकले पनि मेस्सीलाई खेलाउन हतार नगर्न सुझाव प्रशिक्षकलाई दिएको बताइएको छ ।

मेस्सी यसअघि आफ्नो घरमा भएको रियल बेटिसविरुद्धकै खेलबाट मैदान फर्किने भनिए पनि उनले तेस्रो खेल पनि गुमाउने सम्भावना बढी छ । बार्सिलोनाले ला लिगामा दुई खेलमा एक खेल जितेर एक खेल हारेको छ ।

अहिले बार्सिलोनाको टोलीमा लुइस स्वारेज र उसामान डेम्बेले पनि चोटका कारण सामेल छैनन् । प्रमुख खेलाडी टोलीमा नभएका बेला ‘बी’ टिमका ३ जना खेलाडीलाई सिनियर टोलीमा राखेर सँगै प्रशिक्षण गराइँदैछ ।

प्रकाशित मिति ११ भाद्र २०७६, बुधबार ०८:५७
Loading...