बार्सिलोना नेइमार फर्काउने हालसम्मकै सबैभन्दा नजिक : कति मूल्यमा हुँदैछ डिल ?

एजेन्सी, भदौ ११
स्पेनिस बार्सिलोना र फ्रेन्च क्लब पिएसजी ब्राजिलियन खेलाडी नेइमार किनबचेका लागि हालसम्मकै सबैभन्दा नजिक पुगेका छन् । यस्तो रिपोर्ट स्पेन र फ्रान्स दुवै देशका मिडियाले महत्त्वसाथ छापेका छन् ।

बार्सिलोनाले नेइमारका लागि १७० मिलियन युरो मूल्यको प्रस्ताव गरेको ‘बिबिसी’ले जनाएको छ । पिएसजीले चाहे फ्रेन्च खेलाडी उसामान डेम्बेलेलाई पनि डिलमा राख्न सकिने विकल्प बार्सिलोनाले खुला गरेको छ ।

यसअघि पिएसजीले १०० मिलियन युरोसहित डेम्बेले र डिफेन्डर नेल्सन सेमेडो माग गरे पनि बार्सिलोना सकेसम्म सेमेडोलाई भने क्लबमै राख्ने प्रयासमा छ ।

बार्सिलोना तथा पिएसजीका बोर्डका अधिकारीले मंगलबार औपचारिक रूपमा पहिलो चरणको छलफल गरेका थिए । उनीहरूले बुधबार पनि छलफललाई निरन्तरता दिने तयारी गरेका छन् ।

युरोपियन सरुवा बजार सकिन अब मात्रै ६ दिन बाँकी रहेकाले दुवै क्लब सकेसम्म चाँडो नेइमारको विषय टुंगाउने कसरतमा छन् । तर, नेइमारको महँगो मूल्यबीच दुई क्लबबीच अन्तिम सम्झौता बन्न सकेको छैन ।

स्पेनिस ‘मुन्डो डेपोर्टिभो’का अनुसार बार्सिलोना नेइमार अनुबन्धका लागि हालसम्मकै सबैभन्दा नजिक पुगेको छ । सम्भवतः बार्सिलोनाले पूर्वखेलाडी अनुबन्धको घोषणा २४ घन्टाभित्रै गर्नेछ ।

बार्सिलोनाका खेल निर्देशक जाभिएर बोर्डासले पनि आफूहरू नेइमार अनुबन्धको धेरै नजिक पुगेको स्वीकारेका छन् । उनले चाँडै नेइमारको विषय टुंगिने दाबी गरेका छन् ।

प्रकाशित मिति ११ भाद्र २०७६, बुधबार ०३:३९
Loading...