साबिक विजेता बंगलादेशमाथि नेपालको शानदार जित

काठमाडौं, असार १०
साफ अन्डर–१५ च्याम्पियन्स फुटबलमा नेपालले बंगलादेशमाथि शानदार जित निकालेको छ । आज भएको समूह चरणको तेस्रो खेलमा नेपालले साबिक विजेतासमेत रहेको बंगलादेशलाई ४–१ को हार चखायो ।

नेपाललाई शानदार जित दिलाउन कृष्ण यादवले २ गोल गरे भने सुगन जिमी र प्रदीप लम्सालले समान १–१ गोल गरे । नेपालका लागि पहिलो हाफको थप समयमा कृष्ण यादवको गोलबाट नेपालले सुरुआती अग्रता लिएको थियो ।

दोस्रो हाफमा पनि नेपालले ३ गोल थप्यो । खेलको ५२औं मिनेटमा सुगन जिमीले गोल गर्दै नेपाललाई २–० को लिड दिए । तर, खेलको ७९औं मिनेटमा बंगलादेशका मियाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, त्यसको केहीबेरमै प्रदीपले गोल गरेपछि नेपालले खेलमा अग्रता बढायो । त्यसपछि खेलको अन्तिम समयमा कृष्णले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले खेल ४–१ ले जित्यो ।

यो महत्तवपूर्ण जितसँगै नेपाल ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा पनि चढेको छ । बंगलादेश र नेपालको समान ६–६ अंक भए पनि हेड टु हेडका आधारमा नेपाल अगाडि छ । लगातार तीन खेल जितेको भारत ९ अंकसहित शीर्ष स्थानमा छ । आज भएको आफ्नो खेलमा भारतले श्रीलंकालाई ५–० ले स्तब्ध बनायो ।

नेपाल यसअघि पहिलो खेलमा भारतसँग ५–० ले हारेको थियो भने दोस्रो खेलमा श्रीलंकामाथि २–० विजयी भएको थियो । अब नेपालले अन्तिम खेलमा बिहीबार भुटानको सामना गर्दैछ । यसपटक जारी प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, श्रीलंका र भुटान खेलिरहेका छन् ।

प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार १३:१३
Loading...