नेइमार दिन बार्सिलोनासँग पिएसजीले राख्यो नयाँ सर्त : सर्तमा के–के छन् ?

एजेन्सी, भदौ १०
यो समर सिजनमा यदि कुनै खेलाडी सर्वाधिक सरुवाको चर्चामा रहे भने उनी फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन फरवार्ड नेइमार हुन् । दुई वर्षअघि स्पेनिस बार्सिलोना छाडेर पिएसजी पुगेका उनको सरुवाले यो समर सिजन पुरै गर्मायो ।

तर, युरोपियन लिगमा सरुवा बजार बन्दा हुन केही दिन मात्रै बाँकी छँदासम्म पनि नेइमारको सरुवा टुंगो लाग्न सकेको छैन । २७ वर्षीय नेइमार पूर्वक्लब बार्सिलोना र स्पेनकै रियल मड्रिड जान सक्ने चर्चा छ ।

यसअघि पिएसजीले बार्सिलोनाका पटक–पटकका अफर अस्वीकार गरिसकेको छ । उसले रियल मड्रिडको अफर पनि इन्कार गरेको छ । नेइमारलाई पिएसजीले बार्सिलोनाबाट २२२ मिलियन युरोमा किनेको थियो ।

बार्सिलोनाले नेइमार अनुबन्धका लागि अन्तिमपटक प्रस्ताव गर्न तयारी गरेको चर्चा चलिरहेका बेला पिएसजीले बािर्सलोनासामु नयाँ सर्त राखेको छ । उसले अनौपचारिक रूपमा बार्सिलोनालाई एक सन्देश पठाउँदै आफ्ना सर्त पूरा गरेर मात्रै अफर गर्न भनेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

फ्रेन्च मिडियाका अनुसार पिएसजीले बार्सिलोनाबाट दुईजना खेलाडीसहित १०० मिलियन युरो रकम माग गरेको छ । दुई खेलाडीमा उसले फ्रेन्च विंगर उसामान डेम्बेले र पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडो दिनुपर्ने सर्त राखेको छ ।

डेम्बेलेलाई बार्सिलोनाले दुई वर्षअघि जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरो र सेमेडोलाई पोर्चुगिज बेनफकिाबाट ३० मिलियन युरोमा अनुबन्ध गरेको थियो । अहिले सरुवा बजारमा डेम्बेलेको मूल्यांकन कम्तीमा १२५ मिलियन युरो र सेमेडोको ५० मिलियन युरोसम्म रहेको छ ।

प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार १०:२३
Loading...