बार्सिलोनाले नेइमार नल्याई नछाड्ने : ‘अन्तिम प्रस्ताव’ गर्ने तयारी

एजेन्सी, भदौ ९
स्पेनिस बार्सिलोनाले आफ्ना पूर्वस्टार ब्राजिलियन नेइमारलाई पुनः अनुबन्ध गर्ने विषय अझैसम्म बन्द गरेको छैन । यसअघि पटक–पटक नेइमारको विषयमा बार्सिलोनाले फ्रेन्च क्लब पिएसजीसँग अफर गरे पनि पिएसजीले उसका सबैखाले अफर अस्वीकार गर्दै आएको छ ।

तर, बार्सिलोना सरुवा बजार सकिन लाग्दा अन्तिमपटक नेइमारका लागि पुरानै शैलीम अफर गर्ने तयारी गरेको स्पेनिस सञ्चारमाध्यमले खबर छापेका छन् । ती मिडियाले अहिले बार्सिलोना र पिएसजीका अधिकारीबीच अनौपचारिक छलफल भइरहेको र मूल विषयमा सहमति बने औपचारिक रूपमा प्रस्ताव गर्ने तयारी रहेको उल्लेख छ ।

रिपोर्टअनुसार बार्सिलोनाले पिएसजीसँग पुरानै शैलीमा खेलाडी र रकमसहितको अफर गर्नेछ । उसले आफ्ना फ्रेन्च विंगर उसामान डेम्बेले दिएर रकम बढाएर प्रस्ताव गर्ने तयारी गरेको छ । यदि पिएसजीले अन्य खेलाडी चाहे बार्सिलोनाले क्रोएसिन इभान राकिटिक र ब्राजिलियन राफिन्हालाई पनि विकल्मा राख्नेछ ।

बार्सिलोनाले तीन दिनभित्रमा नेइमार फर्काउन सबैखाले प्रयास गर्ने अन्यथा उसले नेइमारको विषय सधैंका लागि बन्द गर्ने बताइएको छ ।

प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार १५:२५
Loading...