कीर्तिमानी २ गोल गरेपछि ग्रीजम्यानको ‘शानदार प्रतिक्रिया’

एजेन्सी, भदौ ९
स्पेनिस ला लिगा फुटबलमा गत राति बार्सिलोनाले आफ्नो घरमा सिजनको दोस्रो खेल खेल्यो । कप्तान लिओनल मेस्सी र लुइस स्वारेजबिनै खेलेको बार्सिलोनाले पाहुना टोली रियल बेटिसलाई ५–२ ले हरायो ।

टोलीका अन्य सुपरस्टार खेलाडीको अनुपस्थितिमा बार्सिलोनालाई जिताउन नयाँ खेलाडी एन्टोनी ग्रीजम्यान नायक बने । उनले पहिलोपटक क्लबका लागि अफिसियल खेलबाट गोल गर्दा एकै खेलबाट २ गोल गर्दै १ गोलका लागि असिसस्टसमेत गरे । पूरै समय मैदानमा बिताएका उनले उत्कृष्ट प्रदर्शन गर्दै टिमको जितमा महत्त्वपूर्ण योगदान दिए ।

ग्रीजम्यानले गरेका २ गोल बार्सिलोनाको इतिहासमा कीर्तिमानी थिए । कसरी भने, यसअघि बार्सिलोनाको इतिहासमा कुनै पनि नयाँ खेलाडीले घरेलु मैदानमा डेब्यु गरेको खेलबाट २ गोल गरेका थिएनन् । अब ग्रीजमयान एक मात्रै यस्ता खेलाडी बनेका छन्, जसले क्याम्प नोउ डेब्युमै २ गोल गरे ।

सो खेलपछि ग्रीजम्यान मिडियासँग बोल्दै खुसी व्यक्त गरे । उनले आफ्ना कमजोरी सुधार गर्दै अघि बढेको पनि बताए । खेलपछि उनले दिएका प्रतिक्रिया–

सान मामेज (लिगको पहिलो खेल एथ्लेटिक बिल्बाओसँग) मा हारेपछि हाम्रो निकै आलोचना भयो । म पनि आलोचनामा परें । त्यसैले आज मैले ती खेलका गल्ती र कमजोरी सच्याउनुपर्ने थियो । त्यो मैले गरें ।

आज मैले प्रदर्शनबाट समर्थकहरूको मन जितें, म निकै खुसी छु ।

आजको खेलमा थुप्रै खेलाडी थिएनन् । तर, हामी जति थियौं, तयार थियौं । हामीले सबै मिलेर टिमलाई जिताउन योगदान दियौं ।

क्याम्प नोउमा गोल गर्न पाउँदा म थप खुसी छु । विगत १० वर्षदेखि यो मैदानमा गोल गर्नु मेरा लागि कठिन बन्दै आएको थियो । आज गरें । सायद विरुद्धमा भन्दा पक्षमा गोल हुन जुरेको रहेछ ।

म आजको प्रदर्शनबाट खुसी छु । म यस्तै खेल्न र यस्ता गोल गर्न यहाँ आएको हुँ । आज मैले आफूलाई साबित गरें जस्तो लाग्छ । तर, म यहाँको यात्रा लामो छ । म सधैं यस्तै प्रदर्शन र गोल गर्न चाहन्छु ।

मेस्सीसँग सँगै खेल्न म आतुर छु । हामीले सँगै प्रशिक्षण गरिसकेका छौं । म उनीसँग खेल्ने दिनको पर्खाइमा छु ।

प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार ०९:३०
Loading...