बोर्नेमाउथमाथि सिटीको सहज जित : अगुएरोको २ गोल

काठमाडौं, भदौ ८
साबिक च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको लिगको तेस्रो खेलमा सिटीले बोर्नेमाउथलाई उसकै घरमा १–३ ले हरायो ।

बोर्नेमाउथलाई उसकै घरमा हराउन सिटीका लागि सर्जियो अगुएरोले २ गोल गरे । उनले खेलको १५औं मिनेटमा केभिन डे ब्रुयानको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ४३औं मिनेटमा रहिम स्टर्लिङले दोस्रो गोल गरे । उनले डेभिड सिल्भाको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा घरेलु टोली बोर्नेमाउथका लागि सब्सिच्युट खेलाडी ह्यारी विल्सनले शानदाार फ्रि कक गोल गरे । उनी चाली ड्यानिएल्स घाइते भएर मैदान छाडेपछि मैदान छिरेका थिए । उनले करिब २५ यार्ड दूरीबाट दर्शनीय फ्रि किक गोल गरेका थिए । सो खेलपछि बोर्नेमाउथले खेल पहिलो हाफमा १–२ मा छोट्यायो ।

तर, दोस्रो हाफमा घरेलु मैदानमा खेलमा फर्किन संघर्षरत बोर्नेमाउथले तेस्रो गोल खायो । यसपटक अगुएरोले व्यक्तिगत दोस्रो गोल गरे । उनले पनि सिल्भाकै पासमा गोल गरेका थिए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल सिटीले १–३ ले जित्यो ।

यो जितपछि सिटीले तीन खेलबाट ७ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । ऊ लिग लिडर लिभरपुलभन्दा २ अंकले पछि छ । पराजित बोर्नेमाउथ ४ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार १४:५८
Loading...