विश्वकप छनौट : इन्जुरी समयको गोलले कोलम्बिया चिलीसँग हारबाट बच्यो

काठमाडौं, असोज २८
सन् २०१८ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलमा चिली र कोलम्बियाले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा घरेलु टोली चिली जितको मुखमा पुगेर इन्जुरी समयमा गोल खाएपछि स्पष्ट जितबाट चुक्यो ।

खेल २–१ मा सकिने नजिक पुगेका बेला कोलम्बियाले इन्जुरी समयमा गोल गरेपछि घरेलु मैदानमा जित्ने चिलीको लक्ष्यमाथि पानी पोखियो । चिली घरमा भएको खेलबाट छनौट यात्रामा पहिलो जित निकाल्ने दाउमा थियो । तर, ऊ अन्तिम समयमा सम्हालिन सकेन ।

चिलीको घरमा कोलम्बियाले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो । सो गोल जेफर्सन लेर्माले गोल गरेका थिए । त्यसपछि ३८औं मिनेटमा चिलीका लागि अर्टुरो भिडालले बराबरी गोल गरे, पेनाल्टीमार्फत् । त्यसको ३ मिनेटमै चिलीका लागि एलेक्स सान्चेजले गोल गर्दै टिमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए ।

चिली सोही अग्रता लिएर जितनजिक पुगेको थियो । तर, खेलको ९१औं मिनेटमा कोलम्बियाका लागि राडामेल फाल्काओले गोल गर्दै टिमको उद्धार गरे । र, खेल २–२ मा सकियो ।

अब यो बराबरीपछि कोलम्बियाले २ खेलमा एक जित र एकमा बराबरीसहित ४ अंक बनाएर तेस्रो स्थानमा छ । चिली २ खेलपछि मात्रै १ अंक बनाएर सातौं स्थानमा छ । चिली यसअघि पहिलो खेलमा पराजित भएको थियो ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार ०३:१९
Loading...