विश्वकप छनौट : ६४औं स्थानको इक्वेडरसँग उरुग्वेको ‘नमिठो’ हार !

काठमाडौं, असोज २८
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकन क्षेत्रमा जारी छनौट खेलमा उरुग्वे नमिठो हारको सिकार भएको छ । बुधबार बिहान भएको दोस्रो छनौट खेलमा पाहुना टोली उरुग्वेलाई घरेलु टोली इक्वेडरले ४–२ गोलको अप्रत्यासित हार चखायो । इक्वेडरले गरेका ४ वटै गोल ओपन एरियाबाट गरेको हो भने उरुग्वेका लागि २ वटै गोल लुइस स्वारेजले पेनाल्टीमार्फत् गरेका हुन् ।

फिफाको नयाँ वरीयतामा उरुग्वे छैटौं स्थानमा छ भने इक्वेडर ६४औं वरीयताको टिम हो । तर, आफ्नो घरमा इक्वेडरले स्टार खेलाडीहरूले भरिएको दक्षिण अमेरिकी क्षेत्रकै एक मजबुत टिम उरुग्वेलाई नमिठो हारको चोट दियो ।

खेलको ७५औं मिनेटमा पुग्दा इक्वेडरले उरुग्वेलाई ४–० ले पछि छाडिसकेको थियो । तर, उरुग्वेले ८३ मिनेटपछि दुई पेनाल्टी पाएपछि सर्वनाक हार हुनबाट बच्यो । इक्वेडरका लागि खेलको १५औं मिनेटमा मोइसेस काइसेडोले पहिलो गोल गरेका थिए । त्यसपछि पहिलो हाफमा इन्जुरी समयमा मिकाहिल इस्टार्डाले गोल गरेर खेल २–० बनाए ।

दोस्रो हाफ सुरु भएको ७ मिनेटमै उनै स्टार्डाले व्यक्तिगत दोस्रो गोल गरेपछि इक्वेडर फराकिलो जिततर्फ अघि बढेको थियो । सोहीक्रममा खेलको ७५औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै खेल ४–० बनाए । त्यसअघि उरुग्वेको १ गोल भिआरमार्फत् रद्द भएको थियो ।

४ गोल खाएर पछि परेको उरुग्वेले अन्तिम समयमा थोरै राहत पायो । जहाँ उसले दुई पेनाल्टी पायो । खेलको ८४औं मिनेटमा बक्समा इक्वेडरका खेलाडीले फउल गरेपछि भिएआरमार्फत् पाएको पेनाल्टीमा स्वारेजले गोल गर्दै खेल ४–१ मा झारे । त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा उरुग्वेले दोस्रो पेनाल्टी पायो, त्यसमा पनि स्वारेजले नै गोल गरेपछि इक्वेडरको जित ४–० बाट ४–२ मा खुम्चियो ।

अब यो हारपछि छनौट चरणका सुरुआती दुई खेल सकिँदा उरुग्वेले एकमा जित र एकमा हारसहित ३ अंक जोडेको छ । इक्वेडरले पनि एक हार र जितसहित ३ अंक जोडेको छ । तर, गोलअन्तरका आधारमा उरुग्वेभन्दा इक्वेडर अंक तालिकामा माथि छ । इक्वेडर यसअघि पहिलो खेलमा अर्जेन्टिनासँग १–० ले हारेको थियो ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार २२:४०
Loading...