विश्वकप छनौट : अर्जेन्टिनाले निकाल्यो लगातार दोस्रो जित

काठमाडौं, असोज २८
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकन क्षेत्रमा जारी छनौट खेलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि उसैको घरेलु मैदानमा १–२ को कमब्याक जित निकाल्न सफल भयो ।

अवे मैदानमा अर्जेन्टिनालाई पछि परेको अवस्था उल्टाएर जित दिलाउनेक्रममा लौटारो मार्टिनेज र जोआक्विन कोरेराले गोल गरेका थिए । यता, पराजित घरेलु टोलीका लागि मार्सेलो मार्टिन्स मोरेनोले गोल गरेका थिए । यससँगै अर्जेन्टिनाले सुरुआतका दुवै खेलमा शतप्रतिशत जित निकाल्न सफल भएको छ ।

बोलिभियाको घरमा अर्जेन्टिनाले कमब्याक जित निकाले पनि ऊ खेलभरि नै चर्को दबाबमा परेको थियो । उसको दोस्रो विजयी गोललाई भिएआरबाट मान्यता प्रदान गरिएको थियो । तुलनात्मक रूपमा अर्जेन्टिनाले भन्दा बोलिभियाले उत्कृष्ट खेल खेलेको थियो । बोलिभियाले अर्जेन्टिनाविरुद्ध ५७ प्रतिशत बल पकडमा राखेको थियो भने १० पटक आक्रमण बुनेको थियो । दुवै टिमले समान ३–३ पटक मात्रै अन टार्गेट प्रहार गरेका थिए ।

बोलिभियाले खेलको २४औं मिनेटमा गोल गरेर खेलमा अग्रता लिएको थियो । सो गोल मोरेनोले गरेका थिए । तर, पहिलो हाफको ४५औं मिनेटमा पाहुना टोली अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गरेर खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा दुवै टोली विजयी गोलको खोजीमा रहेका बेला अन्तिम समयतिर ७९औं मिनेटमा अर्जेन्टिनाका लागि सब्सिच्युट खेलाडी जोआक्विन कोरेरा गोल गर्दै अर्जेन्टिनालाई खेलमा अग्रता दिलाए । सो गोललाई रेफ्रीले भिएआरमार्फत् पक्का गरेका थिए । कप्तान लिओनल मेस्सीले बक्सभित्र लौैटारो मार्टिनेजलाई दिएको पासमा मार्टिनेजले आफैं प्रहार नगरी अनमार्क रहेका कोरेरालाई पास दिएका थिए, जसमा उनले कुनै गल्ती नगरी बललाई लो सटमा जाली चुमाए ।

पछि परेको अवस्थामा घरेलु टोलीले खेलमा दुईपटक गोलका अवसर बनाएको थियो । तर, उसका प्रयास सफल नहुँदा खेल अर्जेन्टिनाले १–२ ले जित्यो । अब यो जितपछि अर्जेन्टिनाले सुरुआतका दुवै खेल जितेर ६ अंक जोडेको छ । अन्य टिमको खेल नहुँदासम्म अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार २१:४१
Loading...