रोनाल्डोलाई कोरोना संक्रमण : पोर्चुगिज टोली छाडे

एजेन्सी, असोज २७
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । पोर्चुगलको राष्ट्रिय टिमका प्रशिक्षक फर्नान्डो सान्तोषले आफ्ना ३५ वर्षीय कप्तान रोनाल्डोमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका छन् । कोरोना संक्रमण पाइएपछि रोनाल्डोले राष्ट्रिय टोली छाडेका छन् ।

कोरोना देखिनासाथ रोनाल्डोले आइसोलेसनमा बस्न टोली छाडेका छन् । यससँगै उनले भोलि राति युइएफए नेसन्स लिगमा हुने तेस्रो खेल गुमाउनेछन् । उनी अब कम्तीमा १४ दिनसम्म आइसोलेसनमा बस्नेछन् । उनले युभेन्टसमा पनि केही खेल गुमाउनेछन् । रोनाल्डोले यसअघि स्पेनविरुद्धको मैत्रीपूर्ण र नेसन्स लिगमा फ्रान्सविरुद्धको दुवै खेल खेलेका थिए ।

राष्ट्रिय टिमले एक प्रेस विज्ञप्ति निकालेर रोनाल्डोमा कोरोनाको कनै लक्षण भने नदेखिएको जनाएको छ । संक्रमण देखिए पनि रोनाल्डोको स्वास्थ्य अवस्था ठीकठाक रहेको र उनी चाँडै मैदान फर्किन सक्ने अपेक्षा विज्ञप्तिमा गरिएको छ ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार १४:४०
Loading...