फ्रान्सका युवा खेलाडी भन्छन्– ‘रोनाल्डोले दिएको जर्सी धुनेछैन’

एजेन्सी, असोज २७
फ्रान्सका युवा खेलाडी मिडफिल्डर एडुआर्डो कामाभिंगाले पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोबाट पाएको जर्सी कहिल्यै नधुने बताएका छन् । २ दिनअघि युइएफए नेसन्स लिग फुटबलमा फ्रान्स र पोर्चुगलको खेलपछि रोनाल्डोले आफूलाई आदर्श मान्ने कामाभिंगालाई आफूले लगाएको जर्सी दिएका थिए ।

फ्रान्सको राष्ट्रिय टोलीका युवा खेलाडीले गत अक्टोबर ८ मा युक्रेनविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । आफ्नो घरमा फ्रान्सले ७–१ ले जितेको सो खेलमा उनले गोलसमेत गरेका थिए । डेब्यु खेलमै गोल गरे पनि फ्रान्सका प्रशिक्षकले उनलाई आफ्नै भूमिमा पोर्चुगलविरुद्ध भएको खेलमा भने टोलीमा राखेका थिएनन् ।

पोर्चुगलविरुद्ध खेल्ने टोलीमा नरहे पनि कामाभिंगाले खेलपछि रोनाल्डोसँग भेट गरेर जर्सीका लागि अनुरोध गरेका थिए । र, रोनाल्डोले उनको अनुरोध नकारेनन् । आफ्ना आइडल रोनाल्डोबाट जर्सी पाएपछि कामाभिंगाले सामाजिक सन्जाल स्न्यापच्याटमा रोनाल्डोले दिएको जर्सी सार्वजनिक गर्दै सो जर्सी आफूले कहिल्यै नधुने बताएका छन् ।

आफूले आदर्श मानेका खेलाडीबाट जर्सी पाएपछि कामाभिंगाले तस्बिरसँगै क्याप्सनमा लेखेका छन्– ‘म यो धुनेछैन ।’

कामाभिंगाले रोनाल्डोलाई सबैभन्दा ठूलो आइडल मान्छन् । उनले सार्वजनिक रूपमै रोनाल्डोले खेलेको स्पेनिस क्लब रियल मड्रिडबाट खेल्न चाहना व्यक्त गर्दै आएका छन् । रियलले पनि यी युवा प्ले मेकरमाथि चासो देखाइरहेको छ ।

पोर्चुगलसँगको खेलपछि फ्रान्सका सबैजो खेलाडीले रोनाल्डोसँग खेल दौरान खिचिएका तस्बिर सामाजिक सन्जालमा पोस्ट गरेका छन् । फ्रान्सको टोलीमा केलियन एमबाप्पे र कामाभिंगासहित ४ जना खेलाडीले रोनाल्डोलाई आइडल मान्छन् । आड्रन राबिओट र नबिल फेकिर रोनाल्डोबाट प्रेरित खेलाडी हुन् ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार १३:४८
Loading...