रोनाल्डोलाई पछि पार्ने होडमा नेइमार र स्वारेज

काठमाडौं, असोज २७
ब्राजिलका नेइमार र उरुग्वेका फरवार्ड लुइस स्वारेज ब्राजिलका लिजेन्ड खेलाडी रोनाल्डोका नाममा रहेको अन्तर्राष्ट्रिय गोल संख्यालाई उछिन्ने नजिक पुगेका छन् । दक्षिण अमेरिकी क्षेत्रबाट अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा हाल तेस्रो स्थानमा रोनाल्डो छन् । उनले ब्राजिलका लागि कूल ६२ गोल गरेका छन् ।

यता, ब्राजिलकै नेइमार भने रोनाल्डोको गोल संख्याबाट मात्रै १ गोलले टाढा छन् । नेइमारका नाममा ६१ गोल छ । त्यसैगरी, उरुग्वेका फरवार्ड लुइस स्वारेजका नाममा ६० गोल छ । हालको स्थितिमा रोनाल्डोभन्दा नेइमार १ गोल र स्वारेज २ गोलले टाढा छन् ।

ताजा स्थितिमा ब्राजिलका नेइमार र उरुग्वेका स्वारेजबीच पनि मात्रै १ गोलको अन्तर छ । आज राति विश्वकप छनौटअन्तर्गत नेइमारको ब्राजिल र स्वारेजको उरुग्वेले आ–आफ्नो खेल खेल्दैछन् । आज रातिकै खेलबाट वा आगामी केही खेलबाट यी दुवै खेलाडीले रोनाल्डोको गोल संख्यालाई पछि पार्ने पक्का छ ।

दक्षिण अमेरिकी क्षेत्रको सर्वाधिक तेस्रो सर्वाधिक गोलकर्ताका लागि अहिले नेइमार र स्वारेजबीच प्रतिस्पर्धा छ । पहिलो स्थानमा ब्राजिलका लिजेन्ड खेलाडी पेले ७७ गोलसहित रहँदा दोस्रो स्थानमा अर्जेन्टिनाका लिओनल मेस्सी ७१ गोलसहित रहेका छन् ।

ताजा अवस्थामा (दक्षिण अमेरिकी) टप–५ गोलकर्ताको सूची :

पेले (ब्राजिल) – ७७ गोल (९२ खेल)
लिओनल मेस्सी (अर्जेन्टिना) – ७१ गोल (१३९ खेल)
रोनाल्डो (ब्राजिल) – ६२ गोल (९८ खेल)
नेइमार (ब्राजिल) – ६१ गोल (१०२ खेल)
लुइस स्वारेज (उरुग्वे) – ६० गोल (११४ खेल)

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार १२:२०
Loading...