अन्तर्राष्ट्रिय फुटबलमा मेस्सी नयाँ कीर्तिमान नजिक

काठमाडौं, असोज २७
अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा नयाँ कोसेढुंगा नजिक पुगेका छन् । उनी दक्षिण अमेरिकी क्षेत्रबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्ने नजिक छन् ।

३३ वर्षीय मेस्सी हाल अन्तर्राष्ट्रिय मञ्चमा कूल ७१ गोलसहित दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका विश्व फुटबलका लिजेन्ड पेलेको नाममा ७७ गोल छ । पेलेको सर्वाधिक गोल संख्यासँग बराबरी गर्न मेस्सीलाई अब ६ गोल आवश्यक छ भने सो रेकर्ड भंग गर्न ७ गोल ।

मेस्सीले केही दिनअघि विश्वकप छनौट खेलअन्तर्गत इक्वेडरविरुद्धको खेलमा १ गोल पेनाल्टीमार्फत् गरेर कूल गोल संख्या ७१ बनाएका थिए । मेस्सीको टिम अर्जेन्टिनाले आज राति दोस्रो छनौट खेल अवे मैदानमा बोलिभियासँग खेल्ने तालिका छ । यो खेलमा गोल मेस्सीले पेलेसँगको दूरी थप घट्नेछ ।

ताजा अवस्थामा (दक्षिण अमेरिकी) टप–५ गोलकर्ताको सूची :

पेले (ब्राजिल) – ७७ गोल (९२ खेल)
लिओनल मेस्सी (अर्जेन्टिना) – ७१ गोल (१३९ खेल)
रोनाल्डो (ब्राजिल) – ६२ गोल (९८ खेल)
नेइमार (ब्राजिल) – ६१ गोल (१०२ खेल)
लुइस स्वारेज (उरुग्वे) – ६० गोल (११४ खेल)

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ११:०८
Loading...