नेदरल्यान्ड्सका २ जना खेलाडी मेरो योजनामा छन् : कोम्यान

एजेन्सी, असोज २७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले जनवरी सिजनमा आफ्नो योजनाका २ जना खेलाडी क्याम्प नोउ आइपुग्ने बताएका छन् । कोम्यानले भनेका २ जनै खेलाडी नेदरल्यान्ड्सका खेलाडी हुन् । कोम्यान बार्सिलोनाको प्रशिक्षक बन्नुअघि नेदरल्यान्ड्सको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक थिए ।

‘बार्सा टिभी’सँग कुरा गर्दै कोम्यानले आफू केही समयअघि मात्रै पद सम्हाल्न आइपुगेकाले नयाँ खेलाडीको अनुबन्धबारे छोटो समयमा निर्णय लिन र योजना बनाउन समय नपुगेकाले जनवरी विन्डोमा केही ठूला निर्णय हुने उनले बताए । ‘म यहाँ आइपुगेपछि छलफल गर्न र नयाँ खेलाडीबारे निर्णय लिने तयारीका लागि समय पर्याप्त भएन,’ कोम्यानले भने, ‘जब जनवरी विन्डो आउँछ, हामी केही महत्त्वपूर्ण निर्णय गर्नेछौं ।’

बार्सिलोनाले भित्र्याउन चाहेका भनेर सरुवा बजारमा चर्चामा रहेका खेलाडीको नाममा कोम्यानले स्पष्ट भनाइ राखे । ‘बाहिर कसको नाममा के चर्चा छ, मैले सबै सुनेको छैन । तर, अहिले मेरो योजनामा नेदरल्यान्ड्सका २ जना खेलाडी छन्,’ कोम्यानले भने, ‘विज्नाल्डुम पनि मेरो सूचीमा छन्, यो साँचो हो ।’

सरुवा बजारका चर्चाअनुसार कोम्यानले हाल इंग्लिस क्लब लिभरपुलमा रहेका डच विंगर जर्जिनियो विज्नाल्डुम र फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपेलाई भित्र्याउन चाहेका छन् । लियोनका कप्तानसमेत रहेका डिपेलाई कोम्यानले लुइस स्वारेजको स्थानमा भित्र्याउन चाहेका छन् ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ००:०३
Loading...