‘मेस्सी पैसा छाप्ने मेसिन हुन्’

एजेन्सी, असोज २६
स्पेनिस फुटबल लिग ला लिगाका अध्यक्ष जाभिएर टेबासले बार्सिलोनाका कप्तान लिओनल मेस्सी ला लिगामा रहनुले फुटबलको अर्थतन्त्रमा ठूलो प्रभाव योगदान पुगेको बताएका छन् । उनले अर्जेन्टिनाका ३३ वर्षीय खेलाडीलाई ‘पैसा छाप्ने मेसिन’ भनेर प्रतिक्रिया दिएका छन् ।

नयाँ सिजन सुरु हुनुअघि बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सी अन्ततः परिबन्धमा परेर एक सिजन क्लबमै रहन बाध्य बनेका थिए । तर, ला लिगा अध्यक्ष टेबासले भने मेस्सी ला लिगामै रहनु धेरै राम्रो रहेको बताएका छन् । ‘म सधैं मेस्सीले स्पेनमै खेलेको हेर्न चाहन्छु । किनभने, मेस्सी पैसा छाप्ने मेसिन हुन्,’ टेबासले भनेका छन्, ‘उनी यहाँ हुँदा स्पेनको फुटबल अर्थतन्त्रमा ज्यादै ठूलो योगदान पुग्छ ।’

टेबासले यो बताएका छन् कि, ला लिगाले पछिल्ला केही वर्षदेखि नै क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीको करिअरपछि ला लिगाको अर्थतन्त्र बिग्रन नदिन तयारी गरिरहेको छ । ‘हामी केही वर्षदेखि नै क्रिस्टियानो रोनाल्डो र मेस्सीको बिदाइपछिको तयारीमा लागेका छौं । उनीहरूले यहाँबाट निस्केर जाँदा लिगको अर्थतन्त्रमा असर नपरोस् भन्नेमा हामी चिन्तित छौं,’ टेबासले भनेका छन्, ‘क्रिस्टियानो जाँदा ला हामीलाई ठूलो असर परेन । किनभने, उनीपछि पनि मेस्सी यहाँ थिए । तर, अब यदि मेस्सी पनि नरहे हामीलाई ठूलो क्षति हुनेछ ।’

टेबासले रोनाल्डो र मेस्सीजस्ता खेलाडी जुन लिगमा भए पनि त्यहाँ फुटबलको अर्थतन्त्र मजबुत हुने बताए । ‘रोेनाल्डो र मेस्सी यस्ता खेलाडी हुन्, जसले आफू रहेको लिगलाई आर्थिक रूपमा ठूलो योगदान दिन्छन् । किनभने, उनीहरूको खेल हेर्नकै लागि लाखौं मानिस पैसा तिरेर रंगशालासम्म पुग्छन्,’ टेबासले भने ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार १५:३१
Loading...