फ्रान्सका प्रशिक्षक भन्छन्– ‘रोनाल्डो युवा पुस्ताका खेलाडीका आइडल हुन्’

एजेन्सी, असोज २६
फ्रान्सको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक डेडिएर डेस्च्याम्पसले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको तािरफ गरेका छन् । गत राति युइएफए नेसन्स लिगअन्तर्गत भएको पोर्चुगलविरुद्धको खेलपछि डेस्च्याम्पसले रोनाल्डो युवा पुस्ताका सबैजसो राम्रा खेलाडीको आइडल रहेको बताए ।

फ्रान्सको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक सो खेल ०–० को बराबरीमा सकिएको थियो । खेलपछि पत्रकार सम्मेलनमा सरिक हुनेक्रममा डेस्च्याम्पसलाई रोनाल्डोको विषयमा सोधिएको थियो । सोक्रममा उनले रोनाल्डो सर्वाधिक सफल र उत्कृष्टमध्येका एक खेलाडी हुनुका साथै युवा पुस्ताका खेलाडीका खास आइडल रहेको बताए ।

‘क्रिस्टियानोको बारेमा मैले के भन्ने ! उनी सर्वाधिक सफल खेलाडी भएको कुरा दुनियाँलाई थाहा छ । उनी उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन्, मेरा लागि सबैभन्दा अघि । उनले करिअरमा व्यक्तिगत रूपमा सबैथोक जितेका छन् । र, देशलाई दुई–दुईपटक उपाधि जिताएका छन्,’ डेस्च्याम्पसले भने ।

डेस्च्याम्पसले अघि थपे, ‘क्रिस्टियानो यस्ता खेलाडी हुन्, जसलाई यो समयका युवा पुस्ताका सबैजसो राम्रा खेलाडीले पछ्याउँछन् । एमबाप्पे त एक उदाहरण मात्रै हुन् । एमबाप्पेले क्रिस्टियानोलाई ठूलो आइडल मान्छन् । फ्रान्सको टोलीमा क्रिस्टियानोलाई आइडल मान्ने अरू पनि थुप्रै खेलाडी छन् । मलाई यसमा खुसी लाग्छ कि, क्रिस्टियानोले यो पुस्ताका युवा खेलाडीलाई प्रेरित गरिरहेका छन् ।’

डेस्च्याम्पसले सन् २०१६ मा भएको युरो कपको फाइनलमा क्रिस्टियानो घाइते भएर मैदान छाड्दा आफूलाई धेरै नै दुःख लागेको बताए । ‘त्यो उपाधि जित्ने फाइनल खेल थियो । तर, क्रिस्टियानो चोट बोकेर चाँडै मैदान छाड्नु परेको थियो । उनले रुँदै मैदान छाड्दा म निकै दुःखी भएको थिएँ । उनीजस्ता महान् खेलाडीले त्यस्तो खेलमा चोट बोकेर मैदान छाड्नु साह्रै पीडादायी हुन्छ,’ डेस्च्याम्पसले भने, ‘तर, पछि उनले चोटको पीडा उपाधिको खुसीयाली मनाएर भुले होलान् ।’

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार १४:१३
Loading...