‘ग्रीजम्यान भित्र्याउनु बार्सिलोनाको गल्ती थियो’

एजेन्सी, असोज २६
स्पेनिस फुटबल क्लब बार्सिलोनाले गत समर विन्डोमा लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानलाई भित्र्यायो । बार्सिलोनाले क्लब एथ्लेटिकोसँग सहमति नै नगरी एकपक्षीय रूपमा ला लिगाको अफिसमा वकिलमार्फत् ग्रीजम्यानको रिलिज क्लज बराबरको १२० मिलियन युरो बुझाएर खेलाडी अनुबन्ध गरेको घोषणा गरेको थियो ।

ठूलो महत्त्वकांक्षासाथ बार्सिलोनाले विश्वकपविजेता खेलाडी भित्र्याए पनि क्याम्प नोउमा उनको भविष्य पनि अहिले संकटमा छ । उनी लगातार बार्सिलोनामा संघर्ष गरिरहेका छन् । र, उनको संघर्ष ठूला उपाधि जित्न र व्यक्तिगत अवार्ड जित्न नभएर, टोलीमा नियमित पर्न र प्रशिक्षकको विश्वास जित्नका लागि हो । दोस्रो सिजन खेलिरहँदा पनि ग्रीजम्यान बार्सिलोनामा ‘ठीकै’ अवस्थामा पनि छैनन् ।

यसैबीच, ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले यो बताएका छन् कि, बार्सिलोनाले ग्रीजम्यान भित्र्याउनु भुल थियो । स्पेनिस पत्रिका ‘स्पोर्ट’सँग कुरा गर्दै उनले ग्रीजम्यानको भविष्य बार्सिलोनामा नरहेको दाबी गरेका छन् । ब्राजिलियन लिजेन्डले आफ्नो टोलीमा विश्वकै उत्कृष्ट खेलाडी हुँदाहुँदै त्यसै पोजिसनका लागि ग्रीजम्यान भित्र्याउनु भुल रहेको बताएका छन् ।

‘अहिले बार्सिलोनामा ग्रीजम्यानको अवस्था जस्तो छ, त्यसबाट म अचम्ममा परेको छैन । यस्तो समय आउँछ भन्ने मलाई अन्दाज थियो । किनभने, ग्रीजम्यानले बार्सिलोना रोज्नु र बार्सिलोनाले उनलाई भित्र्याउनु नै गल्ती थियो,’ रिभाल्डोले भने ।

रिभाल्डोले बार्सिलोनाको टोलीमा लिओनल मेस्सीजस्ता खेलाडी हुँदाहुँदै उनकै भूमिकासँग मिल्ने खेलाडी भित्र्याउनु क्लबको अपरिपक्वता रहेको बताउ । ‘आफ्नो टोलीमा विश्वकै उत्कृष्ट खेलाडी हुँँदाहुँदै त्यही स्थानका लागि ग्रीजम्यान भित्र्याउनु क्लबको खराब बिजनेस थियो । मलाई लाग्छ, बार्सिलोनामा ग्रीजम्यानको समय मात्रै खेर जानेछ,’ रिभाल्डोले भने ।

रिभाल्डोले हालका प्रशिक्षक रोनाल्ड कोम्यानले लुइस स्वारेजको स्थानमा भित्र्याउन चाहेका नेदरल्यान्ड्सका फरवार्ड मेम्पिस डिपे भित्र्याउने योजना ठीक नरहेको बताएका छन् । ‘यदि बार्सिलोना राम्रो चाहन्छ भने स्वारेजको स्थानमा लौटारो मार्टिनेज वा जाडोन सान्चोजस्ता खेलाडी भित्र्याउनुपर्छ,’ रिभाल्डोले भने, ‘कोम्यानले आफ्नै देशका खेलाडी भित्र्याउन चाहेको देखिन्छ । यसबाट उनलाई त सजिलो होला तर टिम भने झन् कमजोर बन्ने खतरा देखिन्छ ।’

रिभाल्डोका अनुसार बार्सिलोनाले ग्रीजम्यान भित्र्याउने निर्णयमा सहमत थिएनन् । ‘मैले बुझेसम्म बार्सिलोनाको ग्रीजम्यान भित्र्याउने निर्णयमा मेस्सी खुसी थिएनन् । मेस्सीले त्यसैबेला ग्रीजम्यानलाई आवश्यक ठानेका थिएनन्,’ रिभाल्डोले भने ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार १३:५८
Loading...