‘मेस्सी म्यानचेस्टर सिटी आए पनि फरक पर्दैन, नआए पनि फरक पर्दैन’

एजेन्सी, असोज २६
नयाँ सिजन सुरु हुनुअघि स्पेनिस क्लब बार्सिलोनाका प्रमुख खेलाडी लिओनल मेस्सीले क्लब छाड्ने निर्णय गरेका थिए । तर, उनले चाहे जसरी ३३ वर्षीय खेलाडीलाई क्लबले फ्रि ट्रान्सफमा छाड्न मानेन । र, मेस्सी बाध्य बनेर बार्सिलोनामै बसे । यदि वास्तवमै मेस्सीले क्लब छाडेका थिए भने उनको नयाँ गन्तव्य इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने तयारी थियो । अझै पनि बार्सिलोनासँगको एक वर्षको सम्झौता सकिएपछि अर्को सिजनका लागि मेस्सी सिटी जान सक्ने चर्चा छँदैछ ।

मेस्सीको म्यानचेस्टर सिटीको सरुवा चर्चा र भविष्यमा हुन सक्ने सम्भावनाबारे सिटीका प्ले मेकर केभिन डे ब्रुयानेले आफ्नो धारणा राखेका छन् । हाल बेल्जियमको टोलीमा रहेका उनले एक अन्तर्वार्तामा कुरा गर्दै मेस्सी सिटी आउने वा नआउने कुराले आफू र टिमलाई खास फरक नपर्ने बाएका छन् ।

उनले हाल आफू सिटीमा रहेका खेलाडीहरूसँग रमाइरहेकाले मेस्सीको सरुवालाई लिएर कति पनि उत्साहित नभएको बताए । सिटीका सबैभन्दा प्रमुख खेलाडी उनले मेस्सीको विषयमा आफूलाई कुनै मतलब नै रहेको बताए । मेस्सी सिटी अनुबन्ध हुने–नहुने विषयमा प्रश्न गर्दा उनले भने, ‘इमानदारीसाथ भन्नुपर्दा मेस्सीको विषयमा मलाई कुनै मतलब नै छैन । उनी सिटी आउँदा राम्रै लाग्छ । किनभने, उनी एक उत्कृष्ट खेलाडीमध्येका हुन् ।’

डे ब्रुयानेले अघि थपे, ‘तर, मेरा लागि उनी आए पनि फरक पर्दैन, नआए पनि फरक पर्दैन । मेरो व्यक्तिगत विचारमा त हाम्रो टिमलाई पनि फरक पर्दैन । किनभने, यहाँ पर्याप्त राम्रा खेलाडी छन् । मलाई यहाँका खेलाडीसँग खेल्न साँच्चै रमाइलो लाग्छ । र, यो आजको मात्रै हैन ।’

केही समयअघि एक अन्तर्वार्तामा डे ब्रुयानेले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग सहकर्मी बनेर खेल्ने चाहना रहेको बताएका थिए । प्रश्नकर्ताले उनलाई हाल आफ्नो टिममा रहेका भन्दा बाहिरबाट एकजना खेलाडीलाई सहकर्मीका रूपमा छान्न भनेपछि उनले इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डोलाई छानेका थिए ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार ०९:१७
Loading...