शानदार हल्यान्ड : पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक दर्ता

काठमाडौं, असोज २६
नर्वेका युवा स्टार फरवार्ड अर्लिङ हल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा करिअरको पहिलो ह्याट्रिक दर्ता गराएका छन् । गत राति युइएफए नेसन्स लिग फुटबअन्तर्गत भएको खेलमा नर्वेले रोमानियालाई ४–० ले हराउनेक्रममा हल्यान्डले ३ गोल गरेका थिए । आफ्नो भूमिमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले ७४औं मिनेटमा पुग्दा ह्याट्रिक हाने ।

यससँगै २० वर्षका हल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा सिनियर टोलीका लागि पहिलो ह्याट्रिक दर्ता गराएका छन् । यसअघि उनले जुनियर टोलीमा एकै खेलमा ९ गोलसम्म गरे पनि सिनियर टोलीका लागि भने ह्याट्रिक गर्न सकेका थिएनन् ।

हल्यान्डले राष्ट्रिय टिमका लागि पहिलो ह्याट्रिक गर्न मात्रै ६ खेल लाग्यो । उनले देशको सिनियर टोलीको जर्सीमा छैटौं खेल खेल्नेक्रममा पहिलो ह्याटिक गर्न सफल भए । उनले हालसम्म नर्वेका लागि ६ खेल खेल्दै कूल ६ गोल नै गरेका छन् भने १ असिस्ट गरेका छन्, त्यसमा एक ह्याट्रिक सामेल छ ।

हल्यान्ड नर्वेको फुटबल इतिहासमा सबैभन्दा थोरै खेल र थोरै समय खेलेर सबैभन्दा चाँडो ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन् । गत राति उनले रोमानियाविरुद्ध खेलको १३औं, ६४औं र ७४औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार ०४:००
Loading...