बहुप्रतीक्षित खेलमा फ्रान्स र पोर्चुगलको बराबरी

काठमाडौं, असोज २६
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत बहुप्रतीक्षित खेलमा हेभिवेट टोलीहरू फ्रान्स र पोर्चुगलले बराबरी खेलेका छन् । सोमबार बिहान फ्रान्सको घरेलु मैदानमा भएको खेल गोलरहित ०–० मा सकिएको हो । निकै प्रतिस्पर्धात्मक खेलभरि घरेलु र पाहुना टोली दुवैबाट गोल हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँड्न बाध्य भए ।

पोर्चुगल र फ्रान्स चार वर्षपछि पहिलोपटक भिड्दा स्पष्ट हार–जितको नतिजा आएन । यी दई टोली सन् २०१६ मा युरो कपको फाइनलमा भिडेका थिए । त्यसबेला पोर्चुगलले फ्रान्सलाई उसकै घरमा ०–१ ले हराएर उपाधि जितेको छ । त्यसपछि यी दुई टोली ठीक ४ वर्षपछि फ्रान्सकै घर र सोही रंगशालामा भिडेका हुन् । तर, पोर्चुगलले ४ वर्षअघि दिएको चोट भुलाउन त्यसै ठाउँमा जित्ने फ्रान्सको सपना पनि फेरि पनि पूरा हुन पाएन ।

घरेलु टोली फ्रान्सविरुद्ध पोर्चुगलले प्रभावशाली प्रदर्शन गदै खेलभरि नै दबाब बनायो । तुलनात्मक रूमपमा दुवै टोलीले बराबरीजस्तो अवसर बनाए भने आक्रमण पनि औसतमा बराबरी नै गरे । पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोको खेलको ३३औं मिनेट र अन्तिम समयमा गरी दुईपटक कडा प्रहार विफल भएको थियो ।

यता, फ्रान्सका लागि घरेलु मैदानमा केलियन एमबाप्पे र ओलिभर जिरुडले पटक–पटक गोलका अवसर गुमाए भने पाउल पोग्बाका दुई प्रहार पोर्चुगिज गोलकिपरले विफल तुल्याइदिए । एन्टोनी ग्रीजम्यान पनि दुई अवसरमा चुकेका थिए ।

आफ्नो घरमा फ्रान्सले कूल १० पटक आक्रमण गर्दा पोर्चुगलले पनि १० पटक नै आक्रमण गरेको थियो । फ्रान्सले पोर्चुगलको पोस्टमा ३ पटक सही दिशामा प्रहार गर्दा पोर्चुगलले पनि फ्रान्सको पोस्टमा ३ पटक नै सही दिशामा हानेको थियो । बल भने पोर्चुगलले बढी आफ्नो पक्षमा राख्यो । पोर्चुगलको पक्षमा कूल ५१ प्रतिशत बल रहँदा फ्रान्सको पक्षमा ४९ प्रतिशत रह्यो । फ्रान्सले खेलभरिमा कूल ५७२ सफल पास खेल्यो भने पोर्चुगलले फ्रान्सको भन्दा बढी ५८३ सफल पास खेल्यो ।

त्यसैगरी, पास एक्युरिसी पनि फ्रान्सको भन्दा पोर्चुगलकै बेस्ट थियो । फ्रान्सको भन्दा ज्यादा आक्रामक खेल खेलेको पोर्चुगलले कूल ४ पटक कर्नर प्रहार गर्दा फ्रान्सले मात्रै एकपटक कर्नर प्रहार गरेको थियो ।

अब यो बराबरीपछि दुवै टोलीले १–१ अंक बाँड्दा पोर्चुगल अझै पनि ३ खेलबाट ७ अंक बनाएर आफ्नो समूहको शीर्ष स्थानमा यथावत छ । समान ३ खेलबाट ७ अंक नै बनाएको फ्रान्स दोस्रो स्थानमा छ । ३ अंक भएको क्रोएसिया तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार २०:१६
Loading...