आफ्ना ‘आइडल’ विरुद्ध उत्रिँदै एमबाप्पे : को बन्ला हिरो ?

काठमाडौं, असोज २५
फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पे फ्रान्सको टोलीबाट आज राति युइएफए नेसन्स लिग फुटबल प्रतियोतिामा पोर्चुगलविरुद्ध उत्रिँदैछन् । राष्ट्रिय टोलीमा प्रवेश गरेयता उनले पहिलोपटक विश्व फुटबलको एक ठूलो टोलीविरुद्ध खेल्न लागेका हुन् । आज आफ्नो देशमा सन् २०१६ को युरो कप च्याम्पियन पोर्चुगलविरुद्ध उत्रिँदा २१ वर्षीय एमबाप्पेका लागि यो खेल र आजको राति विशेष हुनेवाला छ ।

किनभने, एमबाप्पे आफ्नो करिअरमा राष्ट्रिय टोलीको जर्सीमा पहिलोपटक आफ्ना आइडल पोर्चुगलका कप्तानसमेत रहेका क्रिस्टियानो रोनाल्डोविरुद्ध उत्रिँदैछन् । क्लब फुटबलमा उनले यसअघि नै रोनाल्डोविरुद्ध खेलिसकेका छन् । रोनाल्डो रियल मड्रिडमा छँदा एमबाप्पेले पिएसजीबाट रोनाल्डोविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ मा खेलेका थिए । त्यसबेला एमबाप्पेको टिम रोनाल्डोको टिमसँग दुवै लेगमा हारेको थियो ।

एमबाप्पे आज राति अन्तर्राष्ट्रिय फुटबलको मैदानमा पहिलोपटक रोनाल्डोको टिमविरुद्ध खेल्दा यो खेल धेरैका लागि आकर्षणको खेल हुनेछन् । रोनाल्डो र एमबाप्पेलाई क्लब फुटबलमा दर्शकले यसअघि नै हेरिसके पनि अन्तर्राष्ट्रिय फुटबलमा आज पहिलोपटक हेर्न पाउनेछन् ।

यसअघि सन् २०१६ मा रोनाल्डोकै टिम पोर्चुगलले रोनाल्डोकै कप्तानमिा फ्रान्सलाई उसकै घरमा ०–१ ले हराएर उपाधि जितेको थियो । तर, त्यसबेला एमबाप्पे राष्ट्रिय टोलीमा प्रवेश गरेकै थिएनन् । उनले सन् २०१७ मा मात्रै राष्ट्रिय टोलीमा डेब्यु पाएका थिए । उनले फ्रान्सको टोलीमा प्रवेश गरेयता पहिलोपटक आज राति पोर्चुगल र फ्रान्स भिड्दैछन् ।

आज राति युरो कपको डिफेन्डिङ च्याम्पियन र विश्वकपको डिफेन्डिङ च्याम्पियन खेल्दा यो खेललाई विश्व फुटबलका सर्वाधिक सफल कहलिएका रोनाल्डो र यस समयका सबैभन्दा चर्चित र हाई मार्केट भ्यालु भएका एमबाप्पेबीचको व्यक्तिगत भिडन्तका रूपमा पनि लिइएको छ ।

क्लब फुटबलमा रोनाल्डोले एमबाप्पेको टिमविरुद्ध २ खेल खेल्दा ३ गोल गरेर १ असिस्ट गरेका छन् । तर, एमबाप्पेले रोनाल्डोको टिमविरुद्ध २ खेल खेले पनि गोल र असिस्ट केही पनि गर्न सकेका छैनन् ।

३५ वर्षका रोनाल्डोले हालसम्म पोर्चुगलका लागि १६६ खेलबाट १०१ गोल गरेका छन् । रोनाल्डोले पोर्चुगलबाट सन् २०१६ मा युरो कप र २०१९ मा युइएफए नेसन्स लिग जितेका छन् । यता, एमबाप्पेले राष्ट्रिय टोलीमा डेब्यु गरेको ४ वर्षको बीचमा ३६ खेल खेल्दै १५ गोल गरेका छन् । उनले फ्रान्सबाट २०१८ मा फिफा विश्वकप उपाधि जितेका छन् ।
०००

तपाईंको विचारमा आज राति विश्व फुटबलका दुई ठूला पावरहाउस टोलीहरू पोर्चुगल र फ्रान्स भिड्दा खेल कसले जित्ला ? अनि, रोनाल्डो र एमबाप्पेमध्ये आफ्नो टिमका लागि को नायक बन्ला ? कमेन्ट बक्समा आफ्नो विचार राख्नु होला ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार १३:१६
Loading...