नेसन्स लिगमा आज इंग्ल्यान्ड र बेल्जियमको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असोज २५
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज राति एक रोमाञ्चक खेल हुँदैछ, जहाँ युरोपका सदाबहार टिमहरू इंग्ल्यान्ड र बेल्जियम आमनेसामने हुँदैछन् । यस खेलका लागि ह्यारी केनको टिम इंग्ल्यान्डले केभिन डे ब्रुयानेको टिम बेल्जियमलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

यी दुई टोली ग्रुप ‘बी’मा रहेका छन् । यसअघि दुवै टिमले २–२ खेल खेलेकोमा बेल्जियमले दुवै खेले जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने इंग्ल्यान्डले एक खेलमा जित र एक बराबरी गरेर ४ अंकसहित दोस्रो स्थानमा छ ।

आज राति हुने यो खेलबाट घरेलु टोली इंग्ल्यान्ड स्पष्ट ३ अंक बटुलेर समूहको शीर्ष स्थानमा उक्लिने दाउमा छ । तर, बलियो टोली बेल्जियम इंग्ल्यान्डका लागि आज ठूलै चुनौती बन्ने पक्का छ । क्लब फुटबलमा पनि खास प्रतिस्पर्धी रहेका टोटनह्यामका ह्यारी केन र म्यानचेस्टर सिटीका केभिन डे ब्रुयाने आजको खेलमा आमनेसामने हुनेछन् ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार १२:२७
Loading...