नेसन्स लिगमा जर्मनीले निकाल्यो पहिलो जित : युक्रेन घरमै स्तब्ध

काठमाडौं, असोज २५
युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले पहिलो जित जर्ता गरेको छ । गत राति भएको तेस्रो खेलमा जर्मनीले युक्रेनलाई उसकै घरेलु मैदानमा १–२ ले हराउँदै पहिलोपटक स्पष्ट जित हात पारेको हो ।

जर्मनी यसअघि खेलेका दुवै खेलमा बराबरीमा रोकिएको थियो । गत राति चर्को दबाब लिएर युक्रेनको घरमा उत्रिँदा उसले महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

जर्मनीका लागि खेलको २०औं मिनेटमा मथायस गिन्टरले सुरुआती गोल गरेका थिए । त्यसपछि खेलको ४९औं मिनेटमा जर्मनीका लागि लियोन गोरेट्जाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

यता, खेलको ७६औं मिनेटमा युक्रेनका लागि रुस्लान मालिनोभ्स्कीले पेनाल्टीमार्फत् गोल गरेर खेल १–२ मा छोट्याए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल जर्मनीले १–२ ले जित्यो ।

अब जर्मनीले ३ खेल सकिँदा दुईमा बराबरी र एकमा जितसहित ५ अंक बनाएको छ । ऊ दोस्रो स्थानमा छ । ७ अंक भएको स्पेन शीर्ष स्थानमा छ । युक्रेन ३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार ०२:१०
Loading...