रोनाल्डोसँग एकै जर्सीमा खेल्ने सपना

एजेन्सी, असोज २४
इंग्लिस क्लब उल्भ्स तथा मेक्सिकोको स्टार फरवार्ड राउल जिमेन्जले पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग एकै जर्सीमा खेल्ने आफ्नो सपना रहेको बताएका छन् । हाल राष्ट्रिय टोलीको ड्युटीमा रहेका जिमेन्जले आफू रोनाल्डोबाट प्रेरित रहेको बताउँदै उनीसँग सहकर्मी बनेर खेल्नु आफ्नो सपना रहेको बताएका हुन् ।

२ दिनअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सलाई उसकै घरमा ०–१ ले हराउँदा जिमेन्जले नै निर्णायक गोल गरेका थिए । उनी राष्ट्रिय टिम र क्लब उल्भ्सका लागि प्रमुख खेलाडी हुन् । गत समर सिजनमा उनी युभेन्टस सरुवा हुने चर्चामा जोडिएका थिए । २९ वर्षका जिमेन्ज रोनाल्डोलाई आफ्नो आदर्श मान्छन् ।

‘क्रिस्टियानो म्यानचेस्टर युनाइटेड पुगेदेखि नै मैले उनलाई ज्यादै ध्यानपूर्वक हेर्न थालेको थिएँ । उनी अद्भुत हुन् । युनाइटेडमा छँदा उनले गरेका गोलहरू म अहिले पनि युट्युबटमा हेर्छु । उनको मेहनत र सफलता सबैभन्दा सुन्दर छ,’ जिमेन्जले भने, ‘उनी सधैं एकै ठाउँमा रहेनन् । सबैभन्दा कठिन भनिएका लिगहरूबाट खेले । र, सबै ठाउँमा आफूलाई नायक बनाएर छाडे । क्लब फुटबलमा उनको जति चुनौतीपूर्ण र सफल करिअर मैले अरूको देखेको छैन । उनले त पोर्चुगलबाट पनि दुई–दुईवटा उपाधि जिते । यस्तो सफलता जोसुकै खेलाडीले पाउँदैनन् ।’

जिमेन्जले रोनाल्डोसँग एकै जर्सीमा खेल्ने आफ्ना चाहना रहेको तर त्यो पूरा हुने–नहुने आफैंलाई थाहा नभएको बताए । ‘म यो लुकाउन चाहदिनँ कि, मसँग अझै पनि उनको सहकर्मी बन्ने सपना छ । किनभने, म उनीबाट प्रेरित छु । तर, यो कुनै दिन पूरा हुन्छ वा हुँदैन, मलाई नै थाहा छैन,’ जिमेन्जले थपे ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार १२:३१
Loading...