रोनाल्डोले सार्वजनिक गरे ‘सिआर सेभेन १००’ जुत्ता

एजेन्सी, असोज २४
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ जुत्ता सार्वजनिक गरेका छन् । उनीसँग व्यावसायिक साझेदारी रहेको चर्चित कम्पनी नाइकले उत्पादन गरेको नयाँ जुत्ता रोनाल्डोले हालै सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेका हुन् । रोनाल्डोले खास उपलब्धिको सेलिब्रेसन गर्न नयाँ जुक्त सार्वजनिक गरेका हुन् ।

रोनाल्डोले सामाजिक सन्जाल इन्स्टाग्राम, ट्वीटर र फेसबुकमार्फत् नयाँ जुत्ता सार्वजनिक गरेका छन् । साथै, नाइकले पनि अफिसियल रूपमा सो जुत्ता सार्वजनिक गरेको छ । नयाँ जुत्ताको विशेषता भनेको यसमा प्रयोग भएको कलर र जुत्तामा लेखिएको १०० अंक हो ।

रोनाल्डोले अघिल्लो महिना मात्रै पोर्चुगिज टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको कोसेढुंगा पार गरेका थिए । स्वीडेनविरुद्धको खेलमा २ गोल गर्दै उनले आफ्नो नाममा अन्तर्राष्ट्रिय गोल संख्या १०१ बनाएका थिए । उनी आधुनिक फुटबलमा १०० गोल पूरा गर्ने एक मात्रै सक्रिय खेलाडी हुन् ।

करिअरको यही महत्त्वपूर्ण कोसेढुंगा पार गरेको अवसरमा सेलिब्रेसन गर्न रोनाल्डो र नाइकले ‘सिआर सेभेन १००’ अंक अंकित बुट उत्पादन गरेका हुन् । नाइकले यस बुटलाई केही समयपछि सर्वसाधारण्का लागि पनि बिक्रीमा खुला गर्ने जनाएको छ ।

यो बुटको अर्को विशेषता भनेको यसमा प्रयोग भएको कलर हो । जुत्ताको बाहिरी भागमा पोर्चुगलको मुख्य जर्सीको मौलिक रङ रातो प्रयोग गरिएको छ । रोनाल्डोले पोर्चुगलको जर्सीमा १०० गोल पूरा गरेकाले राष्ट्रिय जर्सीको कलर जुत्ताको माथिल्लो भागमा पनि प्रयोग गरिएको हो । जुत्ताको मुनिको भागमा बलको लोगो पनि राखिएको छ ।

नाइकले यस जुत्तालाई ‘नाइक मर्कुरियल सुपरफ्लाई सिआर सेभेन १०० गोल्स’ भनेर सार्वजनिक गरेको छ । बुटमा अंकित ‘सिआर सेभेन १००’ लाई रेड एन्ड गोल्ड कलरमा राखिएको छ । झट्ट हेर्दा निकै आकर्षक देखिने यो बुटको मूल्य भने नाइकले खुलाएको छैन ।

रोनाल्डोले अब राष्ट्रिय टोलीका आगामी खेलसहित युभेन्टसमा पनि यही नयाँ जुत्ता पनि लगाउने भएका छन् । रोनाल्डोले अर्को दिन नेसन्स लिगको तेस्रो खेलमा फ्रान्सविरुद्ध खेल्दा यो जुत्ता पहिलोपटक लगाउनेछन् ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०७:४१
Loading...