एक अवस्थामा मेस्सीले बार्सिलोना नछाड्ने

काठमाडौं, असोज २४
केही समयअघि स्पेनिस क्लब बार्सिलोना छाडेका उरुग्वेन फरवार्ड लुइस स्वारेजले आफ्ना पूर्वसहकर्मी लिओनल मेस्सीको भविष्यबारे धारणा राखेका छन् । हाल अन्तर्राष्ट्रिय ड्युटीमा रहेका उनले एक अन्तर्वार्तामा कुरा गर्दै मेस्सीको हालको पीडा र अवस्था आफूले राम्रोसँग बुझेको बताउँदै उनी यतिबेला धेरै नै दुःखी रहेको बताएका छन् ।

यसै समर विन्डोमा स्वारेज बार्सिलोनाको ६ वर्षे बसाइ बिट मार्दै ला लिगाकै क्लब एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका थिए । उनले नयाँ क्लबमा निकै राम्रो सुरुआत पनि गरेका छन् । यस समरमा स्वारेज र मेस्सी दुवैले एकसाथ क्लब छाड्ने स्थिति आए पनि अन्तिम समयमा मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिएर बार्सिलोनामै रहने निर्णय गरेका थिए ।

बार्सिलोनामा रहँदा मेस्सीसँग मैदान र मैदानबाहिर पनि सुमधुर सम्बन्ध बनाएर ६ वर्ष बिताएका स्वारेजले मेस्सीको बारेमा धारणा राखेका छन् । ‘मेस्सीकोे विषयमा म अचम्ममा परेको छैन । म उनलाई राम्रोसँग जान्दछु । मैले उनको पीडा अनुभूत गरेको छु । उनी अहिले पनि मानसिक रूपमा ठीकठाक छैनन् । उनी विचलित र निराश छन्,’ स्वारेजले भने ।

स्वारेजले मेस्सी अहिले बार्सिलानोमा खुसी नरहे पनि एक अवस्थामा उनले आफ्नो करिअर बार्सिलोनाबाटै अन्त्य गर्न सक्ने बताए । ‘मेस्सी अहिलेको बोर्डसँग साँच्चै खुसी छैनन् । यदि नयाँ बोर्ड आयो भने उनले क्याम्प नोउ बसाइ लम्ब्याउने छन् । आफूलाई क्लबको वातावरण ठीकठाक लागे वा समस्याहरू हल भए उनले अझै पनि बार्सिलोनाबाटै करिअर अन्त्य गर्नेछन्,’ स्वारेजले भने, ‘तर, अहिलेकै बोर्डसँग उनी धेरै समय काम गर्न चाहँदैनन् । उनी त्यहाँ परिवर्तन चाहन्छन् ।’

स्वारेजले आफूलाई बार्सिलोनाबाट बाहिरिन नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान र बोर्डका अधिकारीले दबाब दिएको पनि बताए । ‘नयाँ क्लब खोज्न मलाई प्रशिक्षक र बोर्डले दबाब दियो । सुरुमा त म निराश भएँ । तर, यो ढिलोचाँडो एकदिन हुुनु नै थियो । त्यही भएर मैले छोटै समयमा निर्णय गरें । र, एथ्लेटिको रोजें । अहिले म यहाँ खुसी छु,’ स्वारेजले भने ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०६:५०
Loading...