कतार विश्वकप छनौट : बोलिभियाको पोस्टमा ब्राजिलद्वारा गोलको वर्षा

काठमाडौं, असोज २४
कतार विश्वकप–२०२२ का लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलमा ब्राजिलले फराकिलो जितका साथ सुखद् सुरुआत गरेको छ । आज (शनिबार) बिहान भएको आफ्नो पहिलो छनौट खेलमा ब्राजिलले आफ्नो भूमिमा पाहुना टोली बोलिभियामाथि ५–० को फराकिलो जित जित निकाल्दै छनौट यात्रा थालनी गरेको हो ।

घरेलु मैदानमा ब्राजिललाई एकपक्षीय जित दिलाउनेक्रममा रोवर्टो फर्मिन्होले २ गोल गर्दा मार्किन्हस र फिलिपे कोउटिन्होले १–१ गोल गरे । नेइमारले आफ्ना नाममा गोल लेखाउन नसकेपनि सहकर्मीका २ गोलमा असिस्ट दिएर जितलाई शानदार बनाउन सघाए ।

ब्राजिलका लागि खेलको १६औं मिनेटमा मार्किन्वहसले हेडिङमार्फत् गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । बक्सभित्र अनमार्क रहेका उनले फ्रि हेडरमा सजिलै गोल गरेका थिए । सो गोलमा ड्यानिलोले असिस्ट दिएका थिए । त्यसपछि ३०औं मिनेटमा फर्मिन्होले लोडीको असिस्टमा गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा पनि ब्राजिल हाबी भयो । खेल सुरु भएको ४ मिनेटमै फर्मिन्होले नेइमारको पासमा गोल गर्दै खेललाई ३–० बनाए । त्यसपछि खेलको ६६औं मिनेटमा बोलिभियाका खेलाडी जोसे कारास्कोले आत्मघाती गोल गरे । ब्राजिलका फिलिपे कोउटिन्होको कडा प्रहार बक्समा रहेका कारास्कोको शरीरमा लाग्दै पोस्टमा छिरेपछि ब्राजिल ४–० को सहज स्थितिमा पुग्यो ।

ब्राजिल त्यत्तिमै अडिएन । खेलको ७३औं मिनेटमा कोउटिन्होले बक्सभित्रबाट सुन्दर हेडिङ गोल गरेर घरेलु टोलीलाई ५–० को फराकिलो स्थितमा पुराए । कोउटिन्होको गोलमा नेइमारले नै असिस्ट प्रदान गरेका थिए । सो गोलपछि पनि ब्राजिलले १ गरेको थियो । तर, गोलले मान्यता नपाउँदा उसको खेल ५–० को स्थितिमा सकियो ।

अब यो जितपछि ब्राजिलले पहिलो खेलमै फराकिलो नतिजा निकाल्दै ३ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । आजै आफ्नो खेलमा भेनेज्वेलालाई ३–० ले हराएको कोलम्बिया दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०२:०९
Loading...