कतार विश्वकप छनौट : कोलम्बियाको शानदार सुरुआत

काठमाडौं, असोज २४
कतार विश्वकप–२०२२ का लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलमा कोलम्बियाले शानदार जित निकालेको छ । आज शनिबार बिहान भएको आफ्नो पहिलो छनौट खेलमा कोलम्बियाले आफ्नो भूमिमा पाहुना टोली भेनेज्वेलामाथि ३–० को जित निकाल्दै सुखद् सुरुआत गरेको हो ।

कोलम्बियामाथि एकपक्षीय जित निकाल्नेक्रममा लुइस फर्नान्डो मुरिएल फ्रुटोले २ गोल गरे भने १ गोल डुभान जापाटाले गरे । कोलम्बियाले गरेका ३ वटै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

कोलम्यिबाका लागि खेलको १६औं मिनेटमा जापाटाले पहिलो गोल गरेका थिए । सो गोलमा जुआन काउडराडोले असिस्ट प्रदान गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको २६औं मिनेटमा फ्रुटोले गरेपछि कोलम्बिया २–० ले अघि रह्यो ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका लागि लागि फ्रुटोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले ३–० को सहज अग्रता बनायो । फ्रुटोको दोस्रो गोलमा भर्गासले असिस्ट प्रदान गरेका थिए ।

दोस्रो हाफमा कोलम्बिया र पाहुना टोली भेनेज्वेला दुवै टोलीले गोल गर्न नसकेपछि कोलम्बियाले पहिलो हाफकै अग्रता जोगाएर सुविधाजनक स्थितिबाट खेल जित्यो । यो जितपछि कोलम्बियाले ३ अंक जोडेको छ । ब्राजिलको खेल नसकिँदासम्म ऊ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०१:५०
Loading...