विश्वकप छनौटमा अर्जेन्टिनाको सुखद् सुरुआत : इक्वेडरलाई हरायो

काठमाडौं, असोज २३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिनाले सुखद् सुरुआत गरेको छ । आज शुक्रबार बिहानबाट सुरु भएको छनौट खेलमा अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो ।

आफ्नो भूमिमा भएको खेलमा पहिलो रोजाइका खेलाडी लिएर उत्रिए पनि अर्जेन्टिनालाई १–० ले खेल जित्न पेनाल्टी गोलको सहारा लिनुपर्यो । समग्रमा अर्जेन्टिनाले पाहुना टोलीविरुद्ध कमजोर प्रदर्शन गरेको थियो । उसले कप्तान लिओनल मेस्सीले पहिलो हाफमा गरेको १ मात्रै पेनाल्टी गोलको मदतमा साँघुरो जितमा चित्त बुझायो ।

खेलको १३औं मिनेटमै अर्जेन्टिनाले अग्रता लिएको थियो । घरेलु टोलीका लागि कप्तान लिओनल मेस्सीले पेनाल्टीमार्फत् गोल गरेका थिए । इक्वेडरका खेलाडीले बक्सभित्र ओकाम्पसलाई फउल गरेर लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टीको मौका दिएका थिए, जसमा मेस्सीले गोल गर्दै टिमलाई १–० को लिड दिए ।

तर, त्यसपछि ९० मिनेट र इन्जुरी समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन । र, खेल अर्जेन्टिनाले १–० ले जित्यो । अर्जेन्टिनाले इक्वेडरविरुद्ध कूल ८ पटक आक्रमण गर्दा २ पटक मात्रै सही दिशामा हानेको थियो । उसले ५९ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो । यता, इक्वेडरले खेलभरिमा अर्जेन्टिनाविरुद्ध जम्मा २ पटक मात्रै आक्रमण बुन्दा उसले एकपटक पनि सही दिशामा हान्न सकेन । तर, उसले अर्जेन्टिनाभन्दा बढी गोलका लागि मुभ बनाएको थियो । इक्वेडरले अर्जेन्टिनालाई खेलभरि नै चर्को दबाबमा राखेको थियो । खेलभरिमा अर्जेन्टिनाले कूल ५५० पूरा गर्दा इक्वेडरले ४०१ पास पूरा गरेको थियो ।

पहिलो जितपछि अर्जेन्टिना ३ अंक जोडेर दोस्रो स्थानमा छ । आजै आफ्नो खेल जितेको उरुग्वे ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । पराजित टिमहरू सबैभन्दा पुछारमा छन् ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०२:१५
Loading...