वेल्समाथि इंग्ल्यान्डको प्रभावशाली जित : डेब्युमै लेविनले गरे गोल

काठमाडौं, असोज २३
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्डले वेल्समाथि प्रभावशाली जित निकालेको छ । गत राति भएको खेलमा इंग्ल्यान्डले पाहुना टोली वेल्समाथि आफ्नो घरेलु मैदानमा ३–० को एकपक्षीय जित निकाल्यो ।

घरेलु टोली इंग्ल्यान्डका लागि डेब्यु खेल खेलेका डोमिनिक काल्भर्ट लेविन, कोनर कोआडे र ड्यानी इंग्सले १–१ गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल हान्यो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डका लागि खेल सुरु भएको २६औं मिनेटमा डेब्यु खेलाडी लेविनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । वेल्सको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै उनले क्रस पासमा गोल गरेका थिए ।

त्यसपछि ५३औं मिनेटमा कोनर कोआडेले गोल गरेर अग्रता २–० बनाए । उनले कप्तान काइरन ट्रिपिएरको फ्रि किकमा गोल गर्न सफल भएका थिए । त्यसपछि खेलको ६३औं मिनेटमा ड्यानी इंग्सले टेरन मिङ्सले दिएको हेडिङ पासमा गोल गरेपछि घरेलु टोली ३–० को सहज स्थितिमा पुग्यो ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल इंग्ल्यान्डले ३–० ले जित्यो । इंग्लिस टिमको घरमा वेल्सले पटक–पटक गोलका अवसर बनाए पनि गोल निकाल्न सकेन ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०२:०१
Loading...