कतार विश्वकप छनौट : अर्जेन्टिना पहिलो खेलमा इक्वेडरसँग भिड्दै

काठमाडौं, असोज २२
दक्षिण अमेरिकी क्षेत्रका देशहरूले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छैनाट खेल नेपाली समयअनुसार भोलि बिहानदेखि खेल्दैछन् । त्यसअन्तर्गत लिओनल मेस्सीको टिम अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा चीर प्रतिस्पर्धी इक्वेडरको सामना आफ्नो भूमिमा गर्दैछ ।

अमेरिकी क्षेत्रमा कूल १० टिम मात्रै रहेकाले छनौट चरणमा हरेक टिमले एकअर्काविरुद्ध खेल्नुपर्ने छ । यसपटक अर्जेन्टिनाले पहिलो खेलमा इक्वेडरको सामना गर्न लागेकाले यो खेल धेरैका लागि प्रतीक्षाको खेल बनेको छ । यो खेल नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहान ठीक ६ः१५ बजेबाट सुरु हुनेछ ।

गत वर्षकै लागि निर्धारण भएको याी छनौट खेल कोरोना भाइरसका कारण पछि धकेलिएर अहिले हुन लागेका हुन् । दक्षिण अमेरिकी क्षेत्रका देशहरूले गत वर्ष २०१९ को नोभेम्बरमा अन्तिमपटक मैत्रीपूर्ण खेल खेलेयता कुनै पनि खेल खेलेका थिएनन् ।

विश्वकपमा छनौट हुने अभियानअन्तर्गत अर्जेन्टिनले पहिलो खेल खेल्दा टोलीका नियमित कप्तान लिओनल मेस्सी टोलीमा फर्किएका छन् । उनी दक्षिण अमेरिकी फुटबल महासंघले गत वर्ष नै लगाएको अनुशासनको कारबाही गरेकोमा प्रतिबन्ध पूरा गर्दै लामो समयपछि टोलीमा फर्किएका छन् । यस चरणमा अर्जेन्टिनाले खेल्ने दुवै खेलको कप्तानी मेस्सीले नै गर्नेछन् ।

लिओनल मेस्सीको टिम भएकाले अर्जेन्टिनाले खेल्ने खेल धेरैका नजरमा हुनेछ । नयाँ सिजनमा मेस्सीले क्लब बार्सिलोनामा राम्रो सुरुआत गर्न नसकेको अवस्थामा उनी राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन् । मेस्सीले दुईदिनअघि बाटै समूहसँगै प्रशिक्षण थालिसकेका छन् । अर्जेन्टिनी टोलीमा मेस्सीसँग पाउलो डिबाला, लौटारो मार्टिनेजसहितका प्रमुख खेलाडीहरू समाहित छन् ।

अर्जेन्टिना र इक्वेडरले अन्तिमपटक सन् २०१९ को अक्टोबर महिनामा मैत्रीपूर्ण खेल खेलेका थिए । सो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई उसकै घरमा १–६ को फराकिलो अन्तरले हराएको थियो ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०९:३५
Loading...