युक्रेनको पोस्टमा फ्रान्सले ठोक्यो ७ गोल

काठमाडौं, असोज २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सन् २०१८ को विश्वकप विजेता फ्रान्सले फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ को फराकिलो जित निकाल्न सफल भयो । युइएफए नेसन्स लिगमा पोर्चुगलविरुद्धको खेलको तयारीका लागि खेलेको खेलमा फराकिलो जित निकाल्दा ओलिभर जिरुडले २ गोल गरे भने एन्टोनी ग्रीजम्यान र केलियन एमबाप्पेले पनि गोल गरे ।

फ्रान्सका लागि खेलको नवौं मिनेटमै इडुआर्डो कामाभिङ्गाले पहिलो गोल गरेका थिए भने २४औं मिनेटमा जिरुडले पहिलो गोल गरे । त्यसपछि ३३औं मिनेटमै जिरुडले नै व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्स ३–० ले अघि बढ्यो ।

त्यसपछि खेलको ३९औं मिनेटमा युक्रेनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सलाई उपहार गोल गयो । दोस्रो हाफ सुरु भएपछि ५३औं मिनेटमा भिक्टोर टाइसहानकोभले गोल गर्दै खेलाई ४–१ मा छोट्याएका थिए । तर, त्यसपछि फ्रान्सले ३ गोल थप्दै एकपक्षीय जित निकाल्यो ।

खेलको ६५औं मिनेटमा कोरेन्टिन तोलिसोले गोल गर्दा ८२औं मिनेटमा केलियन एमबाप्पेले गोल गरे । त्यसपछि खेलको ८९औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गरेपछि फ्रानसको ७–१ को जित पकका भयो ।

फ्रान्सले अब आइतबार राति आफ्नो घरमा नेसन्स लिगको तेस्रो खेल पोर्चुगलसँग खेल्दैछ । पोर्चुगल गत राति आफ्नो खेलमा स्पेनसँग ०–० मा रोकियो ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०२:०७
Loading...